काठमाडौं । सनम शाक्य हत्या र तस्करीको साढे ३३ किलो सुन प्रकरणको छानबिन गर्न गठित गृहमन्त्रालयको समितिले पक्राउ गरी थुनामा पुगेका अभियुक्त नै नक्कली भएको तथ्य बाहिर आएको छ । यो घटना बाहिर आएसँगै सहसचिव ईश्वर पौडल नेतृत्वको समितिको काम कारबाहीमा गम्भिर लापरवाहि भेटिएको छ । स्रोतका अनुसार समितिमा रहेका विवादास्पद डिएसपी सुदीप पाठकले सुन काण्डमा चाचाजी भनिने भारतीय नागरिक महावीर गोल्यानलाई नाम मिलेकै आधारमा पक्राउ गरे । वास्तविक सुन तस्कर चाचाजी भन्ने महावीर गोल्यानलाई नभेटेपछि कान नसुन्ने एक सोझा ब्यक्तिलाई नाम मिलेकै आधारमा पक्राउ गरिएको अहिले खुलेको हो ।

उनलाई छानबिन समितिका सदस्य डीएसपी पाठकले नाम मिलेकै आधारमा पक्राउ गरेका हुन् । यो घटनाले सुन प्रकरणमा प्रहरी अनुसन्धान कति फितलो छ भन्ने कुरा छर्लङ्ग पारेको छ । डिल्लीबजारमा रहेको कार्पेट र पर्दा पसलमा बस्ने महावीर गोल्यान चाचालाई पक्राउ गरी चरम यातना दिई जबर्जस्ती सुन तस्करी गरेको कागजमा सही गराएको घटनाले अनुसन्धानमा प्रहरीको लापरबाही कतिसम्म हुँदो रहेछ भन्ने देखाएको छ । महावीर गोल्यान कान सुन्दैनन् ।

जुन कुरा चिकित्सकले नै दिएको मेडिकल रिपोर्टबाट पुष्टि हुन्छ । २०७३ बैशाख २४ मा नै डा. राकेशप्रसाद प्रसाद श्रीवास्तवले गोल्यानको कानको ८० प्रतिशत श्रवण शक्ति गुमिसकेको मेडिकल रिपोर्ट दिएका छन् । श्रवण शक्ति नै नभएका गोल्यान चण्डोलको प्रेष्टिज अपार्टमेन्टबाट दैनिक पैदल हिंडेर डिल्लीबजारको छोरा पंकज गोल्यानले खोलेको कार्पेट पसलमा जाने आउने गर्दथे ।

मुटुका रोगी महावीर गोल्यानले भारतको मेदान्त अस्पतालमा नियमित चेक गराउँदै आएका थिए । मुटुरोगको समस्या पनि देखाएको र कान पनि नसुन्ने भएकाले दैनिक पसलमा समय बिताउन उनी जाने गर्दथे । उनी दैनिक पैदल हिंडेर पसलमा आउने जाने गर्दै आएका थिए । तर प्रहरीले सुन तस्कर भन्ने महावीर गोल्यान उनै हुन् भनेर पक्राउ गरी यातना दिएर बयान गराई मुद्दा चलाइसकेको छ भने उनी अहिले पूपक्र्षका लागि थुनामा छन् ।

कहिल्यै सुन कारोबार नगरे पनि बाबु महावीर गोल्यानलाई सुनको ठूलो कारोबारी भनेर पक्राउ गरेपछि निर्दोष भएको भन्दै न्यायका लागि विभिन्न निकायमा उनका छोरा धाइरहेका छन् । अदालतले समेत गोल्यानको बारेमा यथार्थ नबुझी हेर्दै नहेरी मंगलबार पुर्पक्षमा पठाएको छ । गोल्यानका कानुन ब्यवसायी जगन फुयाँल भन्छन्–‘३३ किलो सुन प्रकरणमा यदि कुनै मान्छेको विरुद्ध कमजोर प्रमाण छ, वास्तवमा निर्दोष कोही मानिस छ भने त्यो महावीर गोल्यान हो । त्यसपछि अरु होलान् ।’

गोल्यान भारतको पश्चिम बंगलाको सिलिगुडी बसोबास गर्ने ब्यक्ति हुन् । उनी अहिले पनि भारतीय नै हुन् । अनुमति लिएर नेपालमा छोराको पसलमा सहयोग गरेर बस्दै आएका हुन् । पंकजले ब्यापारका लागि आफन्तहरु र ससुरालीबाट केही सहयोग लिएर ७ बर्षअअघि फर्म दर्ता गरी डिल्लीबजारमा कार्पेट र पर्दाको पसल खोलेका थिए । त्यही पसलमा चाचाजी भनिने महावीर दिनभर काम गर्दथे । गोल्यान परिवार चण्डोलको प्रेष्टिज अपार्टमेन्टमा बस्दै आएको छ ।

चण्डोलको उक्त अपार्टमेन्टबाट डिल्लीबजार आउने जाने गर्ने महावीर गोल्यान चाचाजीलाई छानबिन समितिका डीएसपी सुदीप पाठकले गौशालाबाट पक्राउ गरेको उल्लेख गरेका छन् । पाठकले गोल्यानलाई अपार्टमेन्टबाटै पक्राउ गरेपनि गौशाला चोकबाट पक्राउ गरेको नक्कली कागज बनाएका थिए । पाठक उनै डिएसपी हुन्, जो चोरी गाडीको केसमा अख्तियारमा मुद्दा धाइरहेका छन् । जहाँ गयो त्यहि विवादमा पर्दै आएका पाठक निर्दोषलाई फसाएर काम देखाउन माहिर मानिन्छन् । अपराध महाशाखामा बस्दा उनीमाथि इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’सँग साँठगाँठ गरी आर्थिक आर्जन गरेको आरोप लागेको थियो ।

प्रहरीले पक्राउ गर्दा गोल्यानबाट एउटा मोवाइल बरामद भयो भनिएको छ । त्यो नम्बर प्रहरीले पूर्वाञ्चलको ९८४२१५७८९९ भनेको छ । तर, महावीर गोल्यानले काठमाडौंको प्रिपेड ९८४१ वाला नम्बर बोक्ने गरेका छन् । बरामद मुचुल्कामा गोल्यानले बोक्दै नबोकेको मोवाइल नम्बर बरामद भएको प्रहरीले देखाएको छ । ९८४२ को नम्बरमा सनम शाक्य प्रकरणमा गोरे भन्नेको चालक शेषराज मल्ल ठकुरीले धुम्बाराहीको अपार्टमेन्टमा बस्ने चाचाजी भन्ने मानिस भनेका छन् । प्रहरीले त्यही आधारमा धुम्बाराहीको वडा नम्बर ३३ अपार्टमेन्टमा बस्ने चाचाजी भन्ने महावीरप्रसाद गोल्यान यही हो भनेर पक्राउ गरेको थियो ।

प्रहरीले कष्टडीमा लगी यातना दिएर हो भन्न बाध्य बनाएको परिवारको आरोप छ । पक्राउ पर्नासाथ यो मानिस सुन तस्कर महावीर गोल्यान होइन भनेर निवेदन दिएपनि डिएसपी पाठकले समितिलाई गलत व्रिफिङ गरी गोल्यान उही हो भनेको स्रोतले थप बतायो । नेपालमा अनुमति लिएर बसेका महावीर गोल्यान भारतीय नागरिक हुन्, सुन तस्कर होइनन् भने भारतीय दूताबासले पत्र लेखिसक्दा पनि उनको बारेमा सरकारले कुनै सुनुवाइ परिवारको आरोप छ । यसरी अदालतले पनि प्रमाण नै नहेरी निर्दोषलाई पुर्पक्षमा पठाएको यो उदाहरण हो ।

तपाईको प्रतिक्रिया