काठमाडौं, १० जेठ । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी घटाउने तयारी गरिएको छ । निर्माणाधीन संघीय प्रहरी ऐनको मस्यौदामा एआइजीको दरबन्दी चारजना मात्रै रहने व्यवस्था गरिएको हो ।

गृह मन्त्रालयका अनुसार निर्माणाधीन प्रहरी ऐनमा नेपाल प्रहरीको प्रशासन विभाग, अपराध अनुसन्धान विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण केन्द्र र प्रहरी अस्पतालमा मात्रै एआइजीको दरबन्दी रहने भनिएको छ । गृहले पठाएको मस्यौदामाथि प्रहरी प्रधान कार्यालयले रायसुझाब दिइसकेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यसअघि नेपाल प्रहरीमा एआइजीको दरबन्दी १६ थियो । निर्माणाधीन मस्यौदाअनुसार कानुन बने नेपाल प्रहरीमा १२ एआइजीको दरबन्दी कटौती हुनेछ ।

प्रदेश प्रहरी प्रमुखका रूपमा एआइजी खटाउने सरकारको निर्णयपछि तत्कालीन गृहमन्त्री जनार्दन शर्माको प्रस्तावमा सरकारले सात एआइजीको दरबन्दी थप गरेको थियो । त्यसपछि नेपाल प्रहरीमा एआइजीको दरबन्दी १६ पुगेको हो । त्यसअघि नौ दरबन्दी मात्रै थियो ।

तपाईको प्रतिक्रिया