काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित तरल सम्पती प्रधानमन्त्री केपी शर्मा ओलीको भन्दा बढी देखिएको छ। बुधवार सार्वजानिक गरिएको मन्त्रीहरूको सम्पत्ति विवरणमा यस्तो देखिएको हो ।

प्रधानमन्त्री ओलीको भन्दा मन्त्री पण्डितको तीन लाख बढी नगद देखिएको छ । सम्पत्ति विवरणमा प्रधानमन्त्री ओलीको नगद ५२ लाख छ भने, मन्त्री पण्तिको ५५ लाख रहेको छ । पण्डितको विराटनगर एक कट्ठामा बनेको ५ कोठे घर र ललितपुर भैसेपाटीमा पत्नीविमलाको नाममा ४ आना जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ । प्रधानमन्त्री ओलीको २ वटा घर १८ तोला सुन र ५२ लाख नगद रहेको छ ।

गत मङ्सिर २१ को प्रतिनिधिसभाको चुनावमा आफूसँग चुनाव लड्ने पैसा नभएको पण्डितले बताएका थिए । प्रतिनिधिसभाको चुनावी खर्च विदेशमा रहेको नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले माया गरेर पठाएको रकम भएको बताएका थिए । गत कात्तिक २१ गते पण्डितले आफ्नै क्षेत्रका मतदाता र विदेशमा रहेका नेपालीहरूले सङ्कलन गरेको रकमबाट आफू चुनाव लडिरहेको बताएका थिए ।

प्रेस सेन्टर र प्रेस चौतारी मोरङले कात्तिक २१ गत मङ्गलवार बिराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा ठट्यौली पारामा ‘ठाउँ-ठाउँमा १०० रुपैयाँ, ५० रुपैयाँ जति सकिन्छ सहयोग गरे हुन्छ, । पत्रकार मित्रहरूले पनि अलिअलि दिएर सहयोग गर्नुहुन्छ कि ?’ भनेका थिए । यसरी १००, ५० रुपौयाँ मागेर चुनाव लडेको भन्ने मन्त्री पण्डित र उनकी श्रीमतीका नाममा बैंक तथा वित्तीय संस्थामा ५५ लाख रुपैयाँ मौज्दात कसरी भेटियो ?

उक्त कार्यक्रममा पण्डितले विगतको चुनाव खर्च पनि सम्झिएका थिए । ०४८ सालमा ३० हजार रुपैयाँ, ०५१ सालमा ७० हजार र ०५६ सालमा साढे ३ लाख खर्च भएको बताएका थिए । पण्डित मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्यका बनेको बताएका थिए । पण्डितलेगत मङ्सिर २१ को प्रतिनिधिसभाको चुनावी खर्च १३ लाख १६ हजार एक सय ६८ रुपैयाँ बुझाएका थिए । यो खर्च पनि विदेशमा रहेको नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले माया गरेर पठाएको रकम भएको बताएका थिए । उनले आफ्नो चुनावी खर्च विदेशमा रहेका मजदुर नेपालीको सहयोग मार्फत जुटाएको बताएका थिए ।

उनले मतदाता नामावली खरिदमा रु १५ सय, सवारी र घोडामा दुई लाख ४० हजार, इन्धन र दानामा ९८ हजार पाँच सय ५०, प्रचार सामाग्रीमा दुई लाख ८० हजार छ सय १५, प्रचार सामाग्री ढुवानीमा ३४ हजार चार सय ६० रुपैयाँ खर्च गरेको विवरण पेश गरेका थिए । यस्तै गोष्ठी कार्यकर्ता परिचालनमा २ लाख ८ हजार ६४, मिडिया प्रचारप्रसारमा १ लाख ८७ हजार, कार्यालय सञ्चालनमा १ लाख २० हजार ४ सय ७५, प्रतिनिधि परिचालनमा ६२ हजार ५ सय १४ र विविध शीर्षकमा ८३ हजार रुपैयाँ खर्च गरेको विवरण पेश गरेका थिए । Source news24nepal.tv

तपाईको प्रतिक्रिया