काठमाडौं । अनुसन्धान समितिले काम थाल्ने वित्तीकै फरार रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीसहित ७ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको छ ।उनीहरु ३८ क्वीन्टल सुन तस्करीमा संलग्न भएको अभियोगमा प्रहरीले रेड कर्नर नोटिस जारी गर्न लागकेो हो ।

३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त भनिएका चुडामणी उप्रेती गोरेलार्य प्रहरीले पक्राउ गरेपछि घटनाका थप रहस्यमय पाटाहरु खुल्दै जान थालेका छन् । गोरेले बयानका क्रममा एसएसपी खत्रीलाई पक्राउ गरे घटनाको सबै रहस्य थाहा हुने भन्दै प्रहरी समक्ष बयान दिएका छन् ।

गोरेको बयानका आधारमा साढे ३३ केजी सुनका लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, सुन तस्करी प्रकरणमा प्रतिवादी बनाइएका सुनिल अग्रवाल, मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतन भण्डारी, हरिशरण खड्का र छिरिङ बाङ्गेल गुरुङविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको हो ।

खत्रीले सुन तस्करीमा प्रहरीको ब्यवस्थापन गर्ने गरेको बताइएको छ । गोरेले सुन तस्करीमा आफुलाई सहयोग गर्नेहरुको नामावली प्रहरी समक्ष बुझाएको छ । सो लिस्टमा खत्रीको नाम पनि समावेश छ । अनुसन्धानमा रहेका अन्य अभियुक्तहरुले पनि खत्रीको नाम लिएका कारण प्रहरीले यस्तो कदम चालेको हो ।

खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो । उनी नेपालमा नरहेको सूचना प्रहरीले पाएको छ ।

घटनाको अनुसन्धान गर्न गठित छानबिन समितिले उनी रहन सक्ने स्थानका बारेमा अनुसन्धान सुरु गरेको छ । समितिले खत्रीका खोजीका लागि भारत प्रहरीसंग पनि सहयोग लिइरहेको जनाएको छ ।

सुन तस्करका भरिया उर्लाबारीका सनम शाक्यको हत्या भएपछि तस्करीको साढे ३३ केजी सुन गायब भएको रहस्य सार्वजनिक भएको थियो । र, त्यस विषयमा छानबिन गर्न सरकारले उच्च स्तरीय अनुसन्धान समिति गठन गरेको थियो ।

तपाईको प्रतिक्रिया