काठमाडौँ । अब केही महिनामै नेपालगन्ज विमानस्थलवाट सिधै भारतको दिल्ली उडान हुने भएको छ । आन्तरिक उडानमा पहिलो स्थानमा रहँदै आएको बुद्ध एयरले नेपालगन्जदेखि भारतको राजधानी नयाँदिल्ली उडान सञ्चालन गर्ने भएको हो ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले यसबारे खुलासा गरेका हुन् । त्यसका लागि भोली सोमवार नै बुद्ध एयरकाले नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिने बस्नेतले बताए ।

बुद्धले कम्तीमा अबको ६ देखि नौ महिनाभित्र नेपालगन्जदेखि दिल्ली सीधा उडान भर्ने गरी तयारी गरेको छ । सरकारले हवाई रुटको काम गरिदिए उडान गर्न सकिने बुद्धले जनाएको छ । भारतीय पक्षवाट गत बिहीवार नै कन्फर्म भइसकेको छ ।

मानसरोवर तिर्थ यात्राका लागि नेपालगन्ज विमानस्थल ट्रान्जिट प्वाइन्ट हो । नेपालगन्जको विमानस्थल प्रयोग गरेर मानसरोवर जाने पर्यटक र तिर्थयात्रीमा सबै भन्दा धेरै भारतीय नागरिक छन् ।

पर्यटनको विकासका लागि नेपालगन्ज वाट भारतको दिल्ली उडानले नेपालगन्ज क्षेत्रमा निकै ठूलो महत्व राख्दछ । सो उडान सुरु भए नेपालगन्जको आर्थिक विकासमा कायापलट गर्ने विश्वास लिइएको छ ।

काठमाडौं विमानस्थल पछि ब्यस्त बिमानस्थलका रुपमा रहेको नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउन स्थानिय स्तरवाट दवाव समेत छ । सो क्षेत्रका जनप्रतिनिध र ब्यवसायीले नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउनुपर्ने माग राखेका छन् ।

अहिले नेपालगन्जपारिको भारतीय बजार लखनउबाट वार्षिक ३० हजार हाराहारी तीर्थयात्री हुम्ला सिमिकोट हुँदै मनसरोबर जान थालेपछि नेपालगन्ज तीर्थयात्रीका लागि हब बनेको छ। जेठदेखि ५ महिना मानसरोबर जाने तिर्थयात्रीहरु नेपालगन्ज नाकाबाट पस्छन्। यस्मा अधिकांश भारतीय नागरिक छन्। बुद्धको दिल्ली उडानले थप पर्यटक भित्रिने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया