दुबईमा एक जोडीले बिहेको १५ मिनेटमै सम्बन्धबिच्छेद गरेका छन् ।‘गल्फ न्यूज’ अखबारका अनुसार शरिया न्यायालयमा विवाह गरेको १५ मिनेटमै सम्बन्धबिच्छेद भएको हो ।

बेहुलीका पिताले बेहुला पक्षसँग २० हजार पाउन्ड रकम माग गरेका थिए । प्रचलनअनुसार नै बेहुलीका पिताले रकम माग गरेको र बेहुलापक्षले पनि उक्त रकम दिने सहमति जनाएपछि विवाह भएको थियो।

विवाहकै क्रममा बेहुलापक्षले ५० प्रतिशत रकम बुझाएको थियो । विवाह दर्ता भइसकेपछि बाँकी रकमका लागि बेहुलीका पिताले दबाब दिएको उक्त अखबारले जनाएको छ । बेहुलाले पाँच मिनेटको पैदल दुरीमा पार्क गरिएको आफ्नो कारमा रकम रहेको जनाउँदै बेहुलीका पितालाई ‘पार्किङ’ मै गएर बाँकी रकम तिर्ने बताएका थिए।

तर, बेहुलीका पिताले कारमा राखेको रकम लिन अरु कसैलाई पठाउन दबाब दिदैं पुरा रकम नपाएसम्म आफूले छोरीलाई लैजान नदिने बताएपछि तनाव बढेको थियो।

दुलाहा पक्षले बेहुलीका पिताको यस्तो दबाबलाई ‘आफ्नो अपमान’ महसुस गर्दै तत्काल सम्बन्धबिच्छेद गरेको बताइएको छ।

समाचारमा बेहुला, बेहुली र उनीहरुको परिवारको परिचय खुलाइएको छैन। (एजेन्सी)

तपाईको प्रतिक्रिया