चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काइदिएका छन् । आज (बुधबार) विहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका छन् ।

नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले जस्ताको बार भत्काएको एक स्थानीयले बताए । ती व्यक्तिहरुले झण्डै एक किलोमिटर जति बार भत्काएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । साइटकै सुरक्षामा खटिएका दुई जना प्रहरीले खिचेको फोटो समेत डिलिट गर्न उनीहरुले धम्की दिएका थिए ।

आशंकामा १६ जना पक्राउ परेका छन् । घटनामा संलग्न मुख्य व्यक्ति भनिएका प्रकाश कँडेलको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए । बार भत्काउन प्रयोग गरिएको डोजर प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया