चितवनको रामपुरमा निर्माणधिन गौतम बु्द्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने नेकपाका स्थानीय नेता प्रकाश कँडेल पक्राउ परेका छन् ।

प्रहरीले उनलाई गयराती नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ । घटनामा संलग्न अन्य १६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेल नेतृत्वको स्थानीयले भत्काएका हुन् । बुधबार बिहान डोजरसहित आएका ती व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए ।

स्थानीयले रंगशाला निर्माणका क्रममा सडक फराकिलो बनाउँदा आफ्नो जग्गा धेरै जाने भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । शितलचोकबाट रामपुर निस्कने बाटो फराकिलो बनाउन रंगशालातर्फको जग्गा छाड्नुपर्ने माग उनिहरुको रहेको प्रहरीले जनाएको छ । बार भत्काउन प्रयोग भएको डोजर पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घट्ना दुखद भएको बताएकी छन् । उनले छलफलको माध्यमबाट समस्या समाधान गर्नुको साटो तोडफोडमा उत्रिएको भन्दै दोषीलाई कारवाही गर्न प्रहरीलाई आग्रह गरेकी थिईन् ।

हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले गरिब जनताले रगत–पसिना खर्चिएर बनाउन लागेको क्रिकेट रंगशालाको कम्पाउण्ड वाल स्थानीयले डोजर चलाएर क्षत विक्षत तुल्याइदिएको गुनासो गरे ।

धुर्मुसका अनुसार आफ्नै आँगनअगाडि क्रिकेट रंगशाला बन्ने भएपछि स्थानीय उत्साहित थिए । र, धुर्मुस दम्पतीलाई घडा राखेर अबिरजात्रा गर्दै स्वागत गरेका थिए । तर, तिनै स्थानीय बुधबार एकाबिहानै डोजरसहित पर्खाल र तारजाली भत्काउन आएका देख्दा आफू मर्माहत भएको उनले बताए ।

तपाईको प्रतिक्रिया