चितवन जिल्लामा धुर्मुस–सुन्तली फाउण्डेशनले बनाउन लागेको भनिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा सुरक्षाका लागि लगाइएको जस्तापातासहितको बार स्थानीयले बुधबार बिहान भत्काइदिएका छन् । भत्काउने काममा फाउण्डेशनको कार्यालय राखिएको घरवेटी स्वयं सहभागी थिए । उनको नेतृत्वमा नै बार भत्काइएको थियो ।

सडक विस्तार गर्ने सम्बन्धमा असन्तुष्ट पक्षले बुधवार डोजर लगेर रंगशालामा लगाइएको बार भत्काएका हुन् । उनीहरुले एक घण्टा लगाएर बार भत्काएपछि मात्र सुरक्षाकर्मी पुगेको थियो । रंगशाला सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले बार भत्काउँदा खिचेको तस्बिर समेत उनीहरुले धम्क्याएर डिलिट गर्न लगाएका थिए । साथै फाउण्डेशनका कर्मचारीलाई समेत धम्क्याएका थिए । डोजर नै प्रयोग गरेर झण्डै १ किलोमिटर क्षेत्रमा लगाइएको बार भत्काइएको हो ।

स्थानीयहरूले रंगशाला निर्माण गर्दा त्यसको वरीपरी बाटो छोड्नुपर्ने माग राख्दै आएका थिए । सोही विषयमा केही दिन अघि सिताराम कट्टेलसंग छलफल पनि भएको थियो । भार भत्काउनेहरूलाई अराजक व्यक्तिहरूको संज्ञा दिइएको छ ।

बार भत्काउनेहरूमा सत्तारुढ नेकपाका स्थानीय नेता तथा कार्यकर्ता हुन् । भत्काइएको क्षेत्रको बुधबार जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी, भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, प्रहरी प्रमुख एसपी दानबहादुर मल्ललगायतले अनुगमन गरेका छन् ।

बार भत्काइएको स्थानको अवलोकनपछि मेयर रेणु दाहालले दोषीलाई कारबाही गर्न एसपी दानबहादुर मल्ललाई निर्देशन दिएकी थिइन् ।

‘मेयर रेणु दाहालले आफ्नै मतदाताहरूलाई पक्राउ गर्न एसपी दानबहादुर मल्ललाई निर्देशन दिएपछि सो कार्यमा संलग्नलाई बुधवार नै पक्राउ गरिएको छ । बार भत्काउनेलाई पक्राउ गरिएपछि स्थानियले बिरोध गरेका छन् । उनीहरुले आफुहरुको मागको सुनुवाई नगरेको भन्दै विरोध जनाएका छन् ।

लामो समय पुष्पकमल दाहाल ‘प्रचण्ड’को अंगरक्षक बसेका चितनव प्रहरीका प्रमुख एसपी मल्ल भरखरै जिम्मेवारी सम्हालेर चितवन आइपुगका हुन् । घटनामा संलग्न भएको आशंकामा १६ जना पक्राउ गरेको चितवन प्रहरी प्रवत्ता डिएसपी दुर्गाराज रेग्मीले बताएका छन् । भत्काउन प्रयोग गरिएको डोजर समेत नियन्त्रणमा लिइएको छ ।

रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने स्थानीयको माग छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने उनीहरूको भनाई छ । उनीहरुले कृषि तथा वनविज्ञानको समेत तारवार भत्काएका छन् । स्थानीयले समेत केही मिटर छाडेर बाटो खोल्ने सहमति भएको ४ दिनपछि नै केही व्यक्तिहरूको उक्साहटमा जस्ताको बार भत्काइएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए ।

तपाईको प्रतिक्रिया