श्रृजना आचार्य काठमाडौं, ३० जेठ । उनको क्षमता बाबालाई मात्र थाहा थिएन की उनै आफैले महशुष गरेकी थिइन् । लाग्थ्यो ‘म स्पेशल चाइल्ड’ हो । जिवनमा केही फरक गर्न सक्छु । आज उनले त्यो प्रमाणीत गरेकी छन् । यहाँ प्रशंग उठाउन खोजिएको बाँकेकी ममता थापा को हो । उनको परिचयको फेहरीस्त अलि लामै हुन्छ । उनी नेपाली राष्ट्रिय महिला क्रिकेट समुहको पूर्व उपकप्तान, सफल सञ्चारकर्मी हुन् । अहिले भर्खरै नेपालको पहिलो महिला कमेन्टेटरको रुपमा आफुलाई स्थापित गर्न खोज्दैछन् । उनी भन्दा पहिला केही महिलाले क्रिकेटमा कमेन्ट्री नगरेका भने होइनन् तर ब्यवसायीक रुपमा पारीश्रमिक लिएर नै कमेन्टेटरको रुपमा काम गर्ने उनी पहिलो महिला हुन् ।

पूर्व खेलाडी हुँदै कमेन्टेटरमा आउने त उनी एक्ली महिला हुन् । भारतमा जन्मिएकी ममतालाई त्यहाँ क्रिकेट प्रति देखिने क्रेजले आकर्षित गर्यो । उनी परिवारसंग नेपाल आएर क्रिकेटमै लागिन् । अन्तर विद्यालय हुँदै उनी महिला क्रिकेटको राष्ट्रिय टिममा सहभागी भइन् । सन् २००७ मा नेपालको पहिलो महिला क्रिकेटको राष्ट्रिय टिममा सहभागी हुने मौका पाउँदा उनले आफ्नो भविष्य यसैमा देखेकी थिइन् । विद्यालयमा विभिन्न खालका प्रतियोगिता हुन्थ्यो सबै खेलमा उनी सहभागी हुन्थिन् तर अरु खेलले उनलाई आकर्षित गर्न सकेन । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लेखबहादुर क्षेत्री, विद्यालय प्रशिक्षक राजकुमार थापाले उनको भविष्य क्रिकेटमै छ भनेर देखाए ।

ममता भन्छिन् ‘मेरो लाइफमा तीन जना गड फादर हुनुहुन्छ लेखबहादुर क्षेत्री, राजकुमार थापा र आफुलाई जन्मदिने बुवा । अरु प्रि वोर्ड टेष्टको तयारीमा हुन्थे तर म भने विद्यालयवाट क्रिकेट प्राक्टिसमा जान्थे । मेरो बुवाले मलाई प्राक्टिसमा लिएर जानुहुन्थ्यो । परिवारको साथ नभए मेरो क्रिकेटको यात्रा सफल हुने थिएन ।’

सन् २०१४ देखि २०१६ सम्मको दुई वर्षको अवधिमा भने उनलाई खेल जिवनले निरास बनायो । कारण उनी आफै भने होइनन् । कुनै जमानामा महिला क्रिकेटको उर्वर भूमी मानिएको क्षेत्र नं ५ मा महिला क्रिकेटरहरुको लागि कुनै खेल भएन । न घरेलु प्रतिस्पर्धा भए न राष्ट्रिय र अन्तराष्ट्रिय क्रिकेट प्रतियोगीतामा जाने अवसर पाए । उनी भन्छिन् ‘हामीले आफ्नो क्षमता देखाउने कुनै फिल्ड पाएनौं त्यती बेला धेरै साथीहरुले फरक क्षेत्र रोजे मैले त्यही बेलामा हो मिडिया रोजे ।’ ममता अहिले नेपालगञ्जको निजि टेलिभिजन हुँदै नेपाल टेलिभिजनको क्षेत्रिय प्रशारण केन्द्र कोहलपुरमा कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत छन् । सकृय क्रिकेट खेलाडीका रुपमा गति कमजोर भएको बेलामा अहिले उनी एउटा सञ्चारकर्मीका रुपमा पश्चिम नेपालमा चम्किएकी छन् । यही चमकमा अहिले नयाँ परिचय थपियो कमेन्टेटर ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिता हेर्न सबै खेलप्रेमी खेल मैदानमा पुग्न सक्दैनन् । टिभी वा अन्य सञ्चार माध्यममा खेल हेर्ने र सुन्ने दर्शकका लागि प्रतियोगितामा के भइरहेको छ भनेर लाइभ जानकारी दिने काम कमेन्ट्री हो । अब नेपाली क्रिकेट खेलाडी सहभागी भएको प्रतियोगितामा निकै रोमाञ्चक आवाजमा खेल सम्बन्धि जानकारी सुन्ने मौका पाउनु भयो भने त्यो आवाज ममता थापाको हुनेछ । कमेन्टेटरले खेलको बर्णन गर्ने शैलीले खेललाई थप रोमान्चक बनाउँछ ।

एपीवान टेलिभिजनमार्फत कर्णाली प्रदेश र प्रदेश १ को खेलबाट कमेन्ट्रीमा ‘डेब्यु’ गरेकी ममताले काठमाडौंमा भर्खरै सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा महिला कमेन्टेटरको भूमिका निभाएर बाँके फर्किएकी छन् । आफ्नो यौवन क्रिकेटमै विताएकी ममतालाई क्रिकेटको मोहले छोडेन र कहिल्यै छोड्ने छैन । खेल मैदानमै गएर क्रिकेटको बल समात्ने अवसर नपाएको बेलामा उनले कमेन्ट्री बक्समा माइक समाएर त्यो सपना पुरा गर्नेछन् । भन्छिन् ‘माइक समातेर बोल्दा कुनै खेलाडीले मिस्टेक गरेको देखे भने आफै दौडेर गएर खेलिदिउँ जस्तो लाग्छ, यस्तो लाग्छ म नै फिल्डमा खेलिरहेकी छु’ उनले अहिले कमेन्ट्री गर्दाको अनुभव सुनाइन् ।

उनले आफु अहिले पनि क्रिकेट खेलीरहेको बताइन् । केही समय अझै क्रिकेट र कमेन्ट्रीलाई संगै लिएर जाने योजना बनाएकी ममताका लागि समय ब्यवस्थापन भने निकै चुनौती बनेको छ । मिडियामा पनि उत्तिकै सकृय हुनुपर्ने भएकाले समय ब्यवस्थापन उनका लागि चुनौती बनेको हो । पुरुषको वाहुल्यता र पुरुषको खेललाई नै प्राथमिकता दिने हाम्रो मुलुकको वातारणमा एउटा महिला कमेन्टेटरका रुपमा आफुलाई स्थापित गर्ने कोशिष गरिरहँदा देखेको सपना के हो ? उनी भन्छिन् ‘म यहाँ पुरुषसंग प्रतिस्पर्धा गर्न आएको होइन । केटाहरुले कमेन्ट्री गर्न सकछन् म पनि गर्न सक्छु है भनेर म त्यो च्यालेञ्ज दिन आएको होइन । नेपालमा ब्यवसायीक रुपमा कमेन्ट्री गर्ने अवसर मैले पाए । मेरो जिवनको महत्वपुर्ण समय क्रिकेटमा बिताइसकेको छु भने क्रिकेट खेलेर आर्जन गरेको त्यो ज्ञान म मेरो आवाजवाट विश्वलाई दिन चाहन्छु ।’

तपाईको प्रतिक्रिया