काठमाडौँ — विश्वकप फुटबलको २१ औं संस्करण बिहीबार राति सुरु भएको छ । रुसको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा विशेष समारोहबीच विश्वकप उद्घाटन गरिएको हो । समारोहमा रसियन कलाकारहरुले विशेष प्रस्तुति दिएका छन् ।

उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबियाबीच प्रतिस्पर्धा भइरहेको छ।खेल सुरु भएको केहि मिनेटमै रुसले साउदी अरेबियालाई १ गोल हान्दै विश्वकप २०१८ को पहिलो इन्टरनेसनल गोल गरेका छन् ।

युरी गोजिन्सिले विश्वकपमा पहिलो गोल गर्दै रसियालार्इ सुरुवाती अग्रता दिलाएका छन्। यो उनको पनि पहिलो अन्तराष्ट्रिय गोलपनि हो।

प्रतियोगितामा ३२ राष्ट्र सहभागी सहभागी छन्। मस्को र अन्य १० सहरमा विश्वकपका खेल हुनेछन् । मस्कोमा दुई रंगशाला लुजनिकी र स्पार्टक छन् भने अन्य १० सहरमा १–१ रंगशाला छन् । विश्वकप खेलिरहेका राष्ट्रको सूचीमा रुस र साउदी अरेबिया तल्लो वरीयतामा रहेकाले यसलाई विश्वकप उद्घाटन इतिहासकै कमजोर खेलका रूपमा हेरिएको छ ।

ब्राजिल, फ्रान्स, जर्मनी र स्पेन प्रबल दाबेदारका रूपमा रहेका छन् । अर्जेन्टिना, इंग्ल्यान्ड, बेल्जियम, पोर्चुगल त्यसपछिका सूचीमा देखिएका छन् । आयोजक रुसलाई समूह चरण पार गर्नै निकै ठूलो चुनौती छ ।

२१ औं संस्करणको विश्वकप इतिहासकै सबैभन्दा महँगो फुटबल प्रतियोगिता पनि हो । प्रतियोगिता आयोजनामा रुसले १२ देखि १४ अर्ब खर्च गर्ने जनाएको थियो । विश्वकपमा सहभागी हुने टिमले कम्तीमा ८० लाख डलर पाउने छन् । प्रि–क्वाटर फाइनल पुग्ने राष्ट्रले १ करोड २० लाख डलर, क्वाटर फाइनल पुग्नेले १ करोड ६० लाख डलर, चौथो हुनेले २ करोड २० लाख डलर, तेस्रो हुनेले २ करोड ४० लाख डलर, उपविजेताले २ करोड ८० लाख र विजेताले ३ करोड ८० लाख डलर पाउने छन् ।

तपाईको प्रतिक्रिया