काठमाडौं । फुटबलको महाकुम्भ फिफा विश्वकप प्रतियोगिता शुरु भएको छ । रुसको राजधानी मस्कोको लुझनिकी रंगशालामा बिहिबार राति नेपाली समयअनुसार ८ः१५ बजे उद्घाटन भएको थियो । करीब ८० हजार दर्शक क्षमता भएको उक्त रंगशालामा ५०० कलाकारले विश्वकप उद्घाटनमा आआफ्नो प्रस्तुति पस्किएका थिए । विश्वकप प्रतियोगिताको उद्घाटनमा खेलमा आयोजक रुस र साउदी अरेबिया आमनेसामने भएका थिए । जसमा आयोजक रुसले साउदी अरेबियामाथि ५–० को जीत हासिल गर्यो ।

खेलको सुरुवातीमै साउदी अरबविरुद्व रसियाले शानदार गोल गरेको थियो । बिहीबार रुसको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा भएको खेलमा उद्घाटन समारोहपछि साउदी अरेबियासँग प्रतिस्पर्धा गरेको घरेलु टोली रसियाले पहिलो हाफको १२ औं मिनेटमा गोल गरेको हो । सन् २०१८ को विश्वकपमा गोल गर्ने रसियाका युरी गजिन्सकी पहिलो खेलाडी बने । खेलको १२ औँ मिनेटमा गोल गर्दै उनले रसियालाई अग्रता दिलाएका थिए । उनलाई गोलको अवसर अलेक्सान्डर गोलोभिनले सृजना गरेका थिए ।

विश्वकपको २१ औं संस्करणमा आयोजक रसियाका तर्फबाट खेलको ४३ औं र ९१ औं मिनेटमा रसियाका डेनिस चेरसेभले दोस्रो र चौथो गोल गरे । खेलको ७१ औं मिनेटमा रसियाका अर्तेम डेजुवाले तेस्रो गोल गरेका थिए । यस्तै खेलको अन्तिम गोल रुसका ए ग्लोभिनले ९४ औं मिनेटमा गर्दै रुसलाई शानदार बिजय दिलाए ।

त्यस्तै विश्वकपको इतिहास हेर्दा अहिलेसम्म कुनै पनि आयोजक राष्ट्र उद्घाटन खेलमा नहारेको रेकर्डलाई रुसले कायमै राख्यो । सन् १९७० मा मेक्सिकोमा भएको विश्वकपमा तत्कालीन सोभियत संघले उद्घाटन खेल खेलेको थियो जसमा खेल बराबरीमा टुङ्गिएको थियो । त्यस्तै सोभियत सङ्घले सन् १९६६ को विश्वकपमा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । यता साउदी अरबले भने सन् २०१० र २०१४ मा विश्वकपमा खेल्न पाएको थियो भने सन् १९९४ को विश्वकपमा प्रिक्वार्टर फाइनलसम्मको यात्रा तय गरेको थियो ।

तपाईको प्रतिक्रिया