काठमाडौं– सोमबार साँझ निधन भएका वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटालाई अन्तिम श्रद्धाञ्जलि दिन न्युरो अस्पताल बाँसबारीमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, चिकित्सक, स्वास्थ्यकर्मी, सर्वसाधारण तथा शुभेच्छुकको भीड लागेको छ।

डा देवकोटाको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि आज बिहान ८ देखि न्युरो अस्पतालको प्रांगणमा राखिएको छ।

डा देवकोटालाई श्रद्धाञ्जलि दिन उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, प्रदेश ३ प्रमुख अनुराधा कोइराला, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, नेपाल कम्युनिष्ट पार्टीका नेताहरु बामदेव गौतम, सुवास नेम्वाङ, विष्णु पौडेल, अग्नी खरेल, पम्फा भुषाल, योगेश भट्टराई, नयाँ शक्ति पार्टीका संयोजक तथा डा देवकोटाका सहपाठी डा बाबुराम भट्टराई र नेतृ हिसिला यमी, प्रधानसेनापति राजेन्द्र क्षेत्रीलगायत न्युरो अस्पताल पुगेका थिए।

सो क्रममा उनीहरुले डा देवकोटाका परिवारजनलाई भेट गर्दै समवेदना प्रकट गरेका थिए।

उनको शीरमा नेपाली ढाका टोपी छ । परिवारका सदस्यहरुका अनुसार डा. देवकोटाको इच्छाअनुसार नै निधनपछि दौरा सुरुवाल, ढाका टोपी र कोट लगाइएको हो । उनको अन्तिम इच्छा नेपालमै प्राण त्याग गर्ने थियो भने उनको अन्तिम इच्छा नेपाली पोशाकमै अन्तिम बिदाइ गरिदिन परिवारलाई भनेका थिए ।

 

तपाईको प्रतिक्रिया