काठमाडौं । रूसमा जारी २१औं संस्करणको फिफा विश्वकपमा एसियाली राष्ट्र जापानले कोलम्बियालाई हराएको छ। मंगलबार भएको समूह एचको पहिलो खेलमा जापानले कोलम्बियालाई २-१ गोल अन्तरले हराउदै समूहमा शीर्ष स्थानमा उक्लिएको छ।

जापानका लागि खेलको छैठौं मिनेटमा स्निजी कागावाले पेनाल्टीमा गोल गरेर अग्रता दिलाएका थिए । १० खेलाडीमा सीमित भएको कोलम्बियाका लागि खेलको ३१ औं मिनेटमा जुआन फर्नान्डो क्विन्टेरोले बराबरी गोल फर्काए । जापानका लागि युया ओसाकाले खेलको ७३ औं मिनेटमा विजयी गोल गरे ।

कोलम्बियाका कार्लोस सान्चेज खेलको तेस्रो मिनेटमै रातो कार्ड पाएर बाहिरिएका थिए । जापानी फरवार्ड ओसाकाको प्रहार कोलम्बियाका गोलरक्षकले रोकेका थिए । तर, बाउन्स बलमा कागावाको प्रहार कार्लोस सान्चेजले पेनाल्टी एरियामा हातले रोक्न पुगे । त्यससँगै पाएको पेनाल्टी सदुपयोग गर्दै जापानका कागावाले अग्रता दिलाएका थिए ।

कोलम्बिया चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा पुगेको टिम हो । त्यसबेला समूह चरणमा कोलम्बियाले जापानलाई ४-१ ले हराएको थियो ।

तपाईको प्रतिक्रिया