म दुई वर्षको छँदा बुवाको हत्या भयो । त्यसले मेरो पूरै जिन्दगी बदलिदियो । बुवा मारिएको केही समयपछि म र दिदीलाई जमैकामै छोडेर आमाले बेलायत जाने निर्णय गरिन् । त्यहाँ गएर विश्वविद्यालयमा पढ्ने र हाम्रो जीवन राम्रो बनाउने उनको लक्ष्य थियो ।

केही वर्ष दिदी र म किङस्टनमा हजुरआमासँग बस्यौं । अहिले पनि सम्झन्छु जतिबेला म आफ्नी आमासँग भएका अरू केटाकेटी देख्थें मलाई साँच्चै ईर्ष्या लाग्थ्यो । आमाले साँच्चै हाम्रा लागि के गरिरहेकी छन् भन्ने मैले राम्ररी बुझेको थिइनँ । मलाई यतिमात्र थाहा थियो कि उनी हामीलाई छोडेर टाढा गएकी छन् ।

हजुरआमा असाध्यै मायालु थिइन् तर त्यो उमेरमा हरेक मान्छे आफ्नी आमासँग हुन चाहन्छ ।

मसँग आमा थिइनन् तर फुटबल थियो । जतिबेला आकाशबाट पानी पर्थ्यो हामी बच्चाहरू बाहिर दौडिन्थ्यौं । पानी जमेको चउरमा छल्याङबल्याङ गर्दै फुटबल खेल्थ्यौं । त्यो हाम्रा लागि सबैभन्दा राम्रो समय थियो । जमैकाको वातावरणबारे सोच्दा मेरो दिमागमा अहिले पनि आउने तस्बिर यही हो । जतिबेला पानी पर्थ्यो कोही पनि घरभित्र बस्दैनथे । सबैजना बाहिर निस्केर त्यसको आनन्द लिन्थे ।

मैले सम्झने अर्को कुरा ग्य्रापनट आइसक्रिम किन्न हजुरआमासँग पैसा माग्न गर्ने बिलौना हो । हाम्रो नजिकै एकजनाले घरबाहिर सानो पसल चलाउँथे । दिनभरि गल्लीमा फुटबल खेलेपछि म साँझ दौडिदै गएर पसलको ढोकामा ढकढक हान्थें । पसले झ्यालबाट टाउको निकालेर सोध्थ्यो, के चाहियो ?

जमैका त्यस्तै हो मित्र, जहाँ मान्छेहरू आफ्नो कर्ममा जे छ त्यसमै चित्त बुझाएर जिउने प्रयासमा लागिरहेका हुन्छन् । चामलदेखि आइसक्रिमसम्मका सबै चिज एउटै सानो पसलमा पाइन्छ ।

मैले त्यो बेला महशुस गरिनँ कि मेरी आमा पनि हाम्रो जीवन राम्रो बनाउन आफ्नै तरिकाले भीडभाडमा भौतारिरहेकी थिइन् ।

म पाँच वर्षको हुँदा आमासँग बस्न दिदी र म लण्डन आयौं । त्यो कठिन बेला थियो किनकी म जे थिएँ त्योभन्दा यहाँको संस्कृति एकदमै फरक थियो र हामीसँग धेरै पैसा पनि थिएन । आमाले हामीले चाहिने कुरा जहिल्यै पनि पूरा गरिन् । तर यो पक्कै पनि ‘द सुइट लाइफ अफ ज्याक एण्ड कोडी’ सिरियलमा जस्तो थिएन ।

आमा आफ्नो पढाइको फी तिर्न होटलमा सफाईको काम गर्थिन् । हामी स्कुल जानुभन्दा पहिला बिहान स्टोनब्रिजमा आमालाई होटलका ट्वाइलेट सफा गर्न सघाउँथ्यौं । त्यसका लागि सबेरै पाँच बजे उठ्नु पर्ने ती दिन म कहिले पनि बिर्सने छैन । कहिलेकाहीँ म दिदीसँग बाझिरहेको हुन्थें, तँ ट्वाइलेट सफा गर्, म बेडसिट मिलाउँछु ।

यसो गर्नुको एउटामात्र राम्रो कुरा के थियो भने काम सकिएपछि भेन्डिङ मेसिनबाट जे निकाले पनि आमाले केही भन्थिनन् । म हरेक दिन मेसिनबाट बाउन्टी बार निकाल्थें ।

हामी जहिल्यै अभावमा हुन्थ्यौं । म सधैँ घरभित्रका केही न केही सामान भाँच्थे, बिगार्थें र सोध्थें, आमा म बाहिर जाउँ, आमा म बाहिर जाउँ ?

आमा सधैँ भन्थिन, बाहिर जाऊ तर घरभन्दा बाहिर नजाऊ । म प्राथमिक विद्यालय जान थालें । त्यतिबेला म निकै बदमास थिएँ । आमालाई सायद मानसिक तनाव नै दिएँ । म धेरै नै खराब त थिइनँ तर कसैको कुरा सुन्न चाहन्नथें ।

स्कुलमा पनि बसेर शिक्षकशिक्षिकाले भनेको कुरा सुन्दैनथें । कतिबेला ब्रेक टाइम होला भनेर घडीमा एकोहोरो हेरिरहन्थें ।

ब्रेक टाइम भएपछि अलिकति खानेकुरा खाएर बाहिर निस्किहाल्थें । हिलोमा म नै रोनाल्डिन्हो हुँ भन्ठानेर दौडिन्थें । मलाई यतिको मात्र मतलब थियो ।

धेरै बदमासी गरेकाले होला उनीहरूले मलाई स्कुलबाट निकाले । निकाले मतलब प्राविधिक रूपमै निकालेका होइनन् आमासँग भने कि मलाई धेरै नै ध्यान दिइराख्नु पर्ने ठाउँमा राख्नुपर्छ ।

त्यसपछि मलाई छ विद्यार्थी र तीन शिक्षक भएको सानो कोठामा राखे । त्यो कोठामा लुक्ने ठाउँ कतै थिएन । सबभन्दा झ्याउ लाग्दो कुरा के थियो भने हरेक दिन बसले हामीलाई लैजान्थ्यो र पुर्‍याइदिन्थ्यो । एकदिन बसमा गइरहेका बेला मैले झ्यालबाट बाहिर हेरें । अरू केटाकेटीहरू हाँस्दै हिँडेर स्कुल गइरहेका थिए । त्यो दृश्यले मलाई छोयो र मैले सोचें, म पनि त्यसरी हाँस्दै हिँडेर स्कुल जान चाहन्छु । म पनि अरूजस्तै हुन चाहन्छु । ममा के खराबी छ र ?

म अरू कसैले भनेको सुन्दैनथें तर आमाले भनेको सुन्थें । आमाको कुराले मेरो व्यवहारमा परिवर्तन भयो । एक वर्षपछि म ठूलो स्कुलमा फर्किएँ ।

मेरो जिन्दगी त्यतिबेलादेखि बदलियो जतिबेला क्लिभ एलिङटनलाई भेटें । हाम्रो छिमेकमा ऊ बाबुसँगै नभएका बच्चाहरूलाई पढाउने गर्थ्यो । विदाको दिन हामीलाई लण्डनका विभिन्न ठाउँहरू देखाउन लैजान्थ्यो । कहिलेकाहीँ हामी स्नुकर खेल्नमात्र पनि जान्थ्यौं । ऊ साँच्चै हाम्रो ख्याल गर्थ्यो ।

एकदिन ऊ मेरो छेउमा बस्यो र सोध्यो, रहिम, तिमीलाई के गर्न मन पर्छ ? सामान्य, यो सामान्य प्रश्न होइन र ? तर मैले कहिल्यै पनि त्यसरी सोचेको थिइनँ । त्यतिबेला म गल्लीमा फुटबल खेल्थें । साथीहरूसँग साइकल चलाउँथे । म बच्चामात्र भइरहेको थिएँ । मैले भने, मलाई फुटबल खेल्न मन पर्छ । उसले भन्यो, म एउटा सानो सन्डे लिग टिममा छु । तिमी आएर किन हामीसँग खेल्दैनौ ?

मेरो जीवन बदल्ने क्षण त्यही थियो । त्यही दिनदेखि जीवन फुटबल, फुटबल, फुटबल भयो । त्यसपछि दिमागमा फुटबल मात्र आइरह्यो । १०–११ वर्षको हुँदा म लण्डनका ठूला क्लबको आँखामा परिसकेको थिएँ । फुल्हाम मलाई चाहन्थ्यो । आर्सनल मलाई चाहन्थ्यो । र जब तिमीलाई आर्सनल चाहन्छ अवश्य पनि तिमी त्यहाँ जानेबारे सोच्छौ । लन्डनको सबैभन्दा ठूलो क्लब । त्यतिबेला दौडिँदै मैले सबैलाई भनेको थिएँ, म आर्सनल जाँदैछु।

तर मेरी आमालाई म आर्सनल जाने कुरा मन परेन । एकदिन उनले मलाई आफूसँगै बसाइन् र भनिन्, हेर, म तिमीलाई माया गर्छु तर तिमी आर्सनल जानुपर्छ भन्ने मलाई लाग्दैन ।

मैले भनें, अ… ह…। आमाले भनिन्, तिमी त्यहाँ गयौ भने त्यहाँ तिमीजस्ता ५० खेलाडी छन् । तिमी त धेरैमध्ये एकमात्र हुन्छौ । तिमी त्यस्तो ठाउँ जानुपर्छ जहाँ तिमी तरक्की गर्न सक्छौ ।

उनले मलाई क्युपिआर जान राजी बनाइन् यो नै मैले आजसम्म गरेको सबैभन्दा सही निर्णय होला । क्युपिआरमा उनीहरूले मलाई सानो गल्ती पनि गर्न दिएनन् । तर परिवारका लागि यो निकै कठिन समय भयो किनकी आमा मलाई एक्लै प्रशिक्षणमा जान दिँदैनथिन् । उनी आफू सधैँ काममा जानु पर्थ्यो । त्यही भएर सधैँ दिदीले मलाई हिथ्रोबाहिर लैजानुपर्थ्यो ।

त्यहाँ पुग्न तीन वटा बस चढ्नु पर्थ्यो । सवा तीन बजे निस्केका हामी राति ११ बजेमात्र घर आइपुग्थौं । हरेक दिन यही क्रम दोहोरिन्थ्यो । मेरो ट्रेनिङ नसकुन्जेल दिदी एउटा सानो क्याफेको माथि बस्थी । कल्पना गर्नुस त १७ वर्षकी केटी फुच्चे भाइका लागि त्यो सब गरिरहेकी थिई । मैले कहिले पनि उसले, अहँ, म उसलाई लिएर जान्नँ भनेको सुनिनँ ।

त्यतिबेला मैले बुझेको थिइनँ, दिदीले मेरा लागि कति त्याग गरेकी छ भनेर । मेरी दिदी र आमाले मलाई यहाँसम्म ल्याइपुर्‍याएका हुन् । पूरै परिवारले मेरो जिन्दगीमा ठूलो भूमिका खेलेको छ । उनीहरू नहुँदा हुन त सायद तपाईंहरू मलाई चिन्नु पनि हुन्थेन ।

तपाईंहरूलाई थाहा छ मेरो बहुलठ्ठीपन ? म आफ्नो सपनाको छायामा हुर्किएँ । साँच्चै सपनाको छायामा । पछाडिको बगैचाबाट मैले नयाँ बनेको वेम्बली रंगशाला हेरें । एकदिन म बाहिर निस्केर हिँडे त्यतिबेला मैले आकाशमा रंगशालाको आर्क देखें । त्यो घरहरूका बीचमा हिमालजस्तो माथि उठेको थियो ।

म मेरो घरै छेउको चउरमा खेल्थें । म गोल हानेर खुशीयाली मनाउन पछाडि फर्कँदा वेम्बलीको आर्क ठ्याक्कै मेरो टाउकोमाथि हुन्थ्यो । वेम्बलीमै भए जस्तो हुन्थ्यो ।

म साँच्चै सोच्थें, म त्यहाँ खेल्न सक्छु । म त्यो गर्न सक्छु । तर यो कुरामा कसैले विश्वास गरेनन् । १४ वर्षको हुँदा मेरी एक जना शिक्षिका थिइन् । इमान्दार भएर भन्नुपर्दा म अन्तै हराएको हुन्थें उनका कुरा सुन्नको साटो । एकदिन उनले भनिन्, रहिम, के भयो तिमीलाई ? फुटबल नै तिम्रो अन्तिम लक्ष्य हो भन्ने सोच्छौ ? तिमीलाई थाहा छ तिमीजस्ता लाखौं केटाकेटी फुटबलर बन्न चाहन्छन् ?

मैले सोचें, ठिकै हो, यस्तो कुरा मैले पहिला पनि सुनिसकें । उनले फेरि थपिन्, तिमीलाई केले विशेष बनाउँछ ? त्यो लाइनले भने मलाई साँच्चै अड्कायो । हो त मलाई केले विशेष बनाउँछ ?

२ महिनापछि म इंग्ल्याण्डको यू–१६ मा समावेश भएँ र उत्तरी आयरल्याण्डविरूद्ध २ गोल गरें । टेलिभिजनलगायत सबैतिर यो देखाइएको थियो । त्यो मेरा लागि निकै ठूलो क्षण थियो । सोमबार स्कुल जाँदा अचानक सबै शिक्षकहरू मेरा संसारकै बेस्ट फ्रेन्ड बनेका थिए ।

साँच्चै टर्निङ प्वाइन्टचाहिँ म १५ वर्षको हुँदा आयो । लिभरपुल मलाई चाहन्थ्यो तर यो घरदेखि तीन घन्टा टाढा पर्थ्यो । म आमासँग लिभरपुल जान चाहन्छु भनेको कुरा कहिल्यै बिर्सन्नँ । म छिमेकका साथीहरूलाई माया गर्थें । उनीहरू अहिले पनि मेरा बेस्ट फ्रेन्ड छन् । तर त्यतिबेला केही अपराध र छुरा प्रहारका घटना भइरहेका थिए । मलाई लाग्यो कि लिभरपुल नै कहीँ टाढा गएर फुटबलमा केन्द्रीत हुने ठाउँ हो । मेरो दिमागमा जानुपर्छ भन्ने थियो । मेरी आमा र दिदीले आफ्नो जीवन त्यागेर मलाई यहाँसम्म ल्याइपुर्‍याए । म यहाँ आइपुगें । अब जान्छु ।

दुई वर्षसम्म म हराएँ । तपाईं मेरा साथीलाई सोध्न सक्नुहुन्छ । जब एक दिन बिदा हुन्थ्यो । म रेल चढेर आमालाई भेट्न लण्डन आउँथें र साँझ लिभरपुल फर्किन्थें ।

मलाई दुनियाँसँग केही मतलब थिएन । म आफूलाई फुटबलर बनाइरहेको मात्र थिएँ । क्लबले मलाई ७० वर्षका जोडीसँग बस्ने व्यवस्था मिलाएको थियो । उनीहरू मलाई नातिजस्तै व्यवहार गर्थे । हरेक बिहान म उठेर तल आउँदा ब्याकन बट्टी लिएर उनीहरू पर्खिरहेका हुन्थे । यो अविश्वनीय थियो । पछाडिको बगैंचा, ती फूल, ती रूखहरू त्यो एउटा बेग्लै दुनियाँ थियो ।

हरेक दिन बिहान आमा फोन गरेर सोध्थिन्, रहिम, बिहानको प्रार्थना गर्‍यौ ? आजका दिनका लागि धन्यवाद भन्यौ ? म भन्थें, अँ, आमा मैले सबै गरें।

सम्भवतः त्यो मेरो जीवनको सबैभन्दा महत्वपूर्ण समय थियो । मेरो एकमात्र उद्देश्य राम्रो कन्ट्रयाक्ट पाउने थियो ताकी मेरी आमा र बहिनीलाई कुनै पनि कुराको तनाव लिन नपरोस् ।

आमालाई घर किनिदिएको दिन म सबैभन्दा खुसी भएको दिन थियो सायद । म सम्झिन्छु, बच्चा हुँदा तीन चार पटक ट्रेनिङबाट घर फर्किने बस चढेका बेला आमा मलाई नयाँ ठेगानमा आउन म्यासेज पठाउँथिन् । उनले लेखेकी हुन्थिन्, यो हामी अहिले बसिरहेको ठाउँ हो ।

भाडा तिर्न नसकेर हामी २ वर्षसम्म कति धेरै ठाउँमा डेरा सरेका थियौं । त्यतिबेला म यो विषयमा कहिल्यै सोच्दैनथें । तर अहिले म बुझ्न सक्छु त्यस्तो संघर्ष झेल्न आमालाई कस्तो भयो होला ।

यो भन्नुपर्दा दुःख लागेको तर पनि म यो भन्छु । केही मिडियाको धारणा म हिराचाँदी मन पराउँछु । म अरूलाई सम्पत्ति देखाउन चाहन्छु भन्ने छ । मलाई साँच्चै थाहा छैन यस्ता कुरा कहाँबाट आउँछन् । जतिबेला मैले आमालाई घर किनिदिएँ । केही मानिसहरूले लेखिरहेका कुरा अविश्वनिय थिए । कसैले यसो गर्नु निकै दुःखद् हो भन्ने लाग्छ । तिनीहरू त्यो कुरालाई घृणा गर्छन् जे उनीहरूलाई थाहै छैन ।

केही वर्ष पहिला यस्ता कुरा म मनमा लिन्थें । आमालाई पनि भन्थें, उनीहरूले मलाई नै किन यसो भन्छन् ? तर अचेल मेरी आमा, दिदी र बच्चाहरूले केही तनाव नलिएजस्तै म पनि ठिक छु ।

यदि मानिसहरू आमाको घरको बाथरूमका बारे लेख्न चाहन्छन् भने मैले तपाईंलाई भन्नैपर्छ–१५ वर्षअघि हामी स्टोनब्रिजमा ट्वाइलेट सफा गरिरहेका हुन्थ्यौं र भेन्डिङ मेसिनबाट बिहानको खाजा खान्थ्यौं । यदि दुनियाँमा कोही मान्छे खुसी हुन लायक छ भने ती मेरी आमा हुन् ।

उनी केही नल्याई यहाँ आएकी थिइन् । होटलका ट्वाइलेट सफा गरेर बेडसिट मिलाएर पढिन् र अहिले उनी एउटा नर्सिङ होमकी निर्देशक छन् । र उनको छोरो इंग्ल्याण्डका लागि खेल्छ ।

(म्यान्चेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्ने २३ वर्षिय रहिम अहिले इग्ल्याण्डबाट विश्वकप खेल्न रसियामा छन् । यो उनको दोस्रो विश्वकप हो । द प्लेअर्स ट्रिब्युनमा उनले लेखेको इट वाज अल अ ड्रिम लेख हामीले अनुवाद गरेका हौं ।) (श्रोत खबर डबली)

तपाईको प्रतिक्रिया