प्रशिक्षक जर्ज साम्पोलीको खराब रणनीतिका कारण विश्वकपमा असफल भइरहेको भन्दै अर्जेन्टेनी खेलाडीहरुले प्रशिक्षकविरुद्ध विद्रोह थालेपछि नाइजेरिया विरुद्धको गर या मरको खेल अगाडि अर्जेन्टिना गम्भीर संकटमा परेकाे छ।

क्रोएशियासँग लज्जास्पद पराजय भोग्नुमा साम्पोलीको खराब रणनीति मुख्य कारण रहेको लियोनल मेस्सी र उनका सहकर्मीहरुले निष्कर्ष निकाल्दै अर्जेन्टिनी फुटबल संघ सामू प्रशिक्षक परिवर्तनको माग गरेका छन्।

क्रोएशियाविरुद्ध दोस्रो खेलमा ३–० को पराजयपछि अर्जेन्टिना विश्वकपबाट बाहिरिने संघारमा छ। खेल हारेपछि शुक्रबार राति बसेको खेलाडी, प्रशिक्षक तथा संघका अध्यक्ष क्लाउडियो टापियाबीच गहन समिक्षाका क्रममा खेलाडीहरुले प्रशिक्षक परिवर्तनको माग गरेका हुन्।

प्रशिक्षक साम्पोलीको खराब रणनीतिका कारण हार्नु परेकाले उनीप्रति खेलाडीहरुले विश्वास गुमाएका कारण विकल्प खोजिनुपर्ने मिल्डफिल्डर जेभियर मास्चिरानोले बताएका थिए। नाइजेरियाले आइसल्याण्डलाई पराजित गरेपछि २०१४ को फाइनलिस्ट टोली अर्जेन्टिनालाई अन्तिम खेलमा नाइजेरियालाई पराजित गर्दै अन्तिम १६ मा पुग्ने मौका छ।

यस अवस्थामा खेलाडीहरुले साम्पोलीको स्थानमा अर्जेन्टिनाले १९८६ को विश्वकप जित्दाका मिडफिल्डर तथा अहिले टोलीका महाप्रवन्धक रहेका जर्ज बारुचागालाई प्रशिक्षकका रुपमा ल्याउन चाहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

बारुचागाका नजिकका साथी तथा १९८६ का विश्वकप विजेता टोलीका सहकर्मी रिकार्डो गिउस्टीले खेलाडीहरुको विद्रोहलाई पुष्टि गर्दै भने, ‘खेलाडीहरु टिम फेरि माथि उठोस भन्ने चाहान्छन्। बैठकमा उनीहरुले प्रशिक्षक साम्पोली र संघका अध्यक्ष टापियालाई स्पष्ट रुपमा अन्तिम खेलमा खेलाडीहरु प्रशिक्षकले नभई आफूले चाहेको बमोजिम हुनुपर्ने माग गरेका छन्।’

खेलाडीहरुको मागपछि संघका अध्यक्ष टापियाले साम्पोलीलाई प्रशिक्षण छाड्न अनुरोध गरेको बेलायतको पत्रिका द सनले उल्लेख गरेको छ। अर्जेन्टिनाले समूहको अन्तिम खेल मंगलबार नाइजेरियासँग खेल्नेछ। यदि उनीहरुले नाइजेरियालार्इ पराजित गरे र क्रोएशियाले अाइसल्याण्डलार्इ पराजित गरे अर्जेन्टिना अन्तिम १६ मा पुग्नेछ। श्रोत नेपाल खबर

तपाईको प्रतिक्रिया