काठमाडौं, २३ असार । क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छोडेर इटालियन क्लब युभेन्टस जाने चर्चा सुरु भएपछि सेयर बजारमा युभेन्ट्सको सेयर ह्वात्तै बढेको छ ।

रोनाल्डो आउने मिडिया रिपोर्ट आएपछि इटालियन सेयर बजारमा युभेन्टसको सेयर बढेको हो । मिडिया रिपोर्टका अनुसार विहिबार ११.१९ प्रतिशतले युभेन्टसको सेयर बढेको थियो भने शुक्रबार ७ प्रतिशतले बढेको बताइएको छ ।

सेयर बजारमा रोनाल्डोको समचारले हलचल पैदा गरेपछि युभेन्ट्सले प्रेस विज्ञप्ति निकाल्न परेको थियो । युभेन्टसले लगानी कर्तालाई जानकारी गराउदै ट्रान्सफर विन्डोमा क्लबले खेलाडीहरु भित्राउने बिषयमा नेगोसियसन गर्ने र कन्फर्म भएपछि क्लबले आधिकारिक जानकारी गराउने भन्दै मिडिया रिपोर्टलाई मात्र आधार नबनाउन आग्रह गरेको छ ।

यस अघि स्पेनिस र इटालियन मिडियाले रोनाल्डोले यस सिजनमा युभेन्ट्स जान सक्ने यसका लागि दुवै क्लबबाट नेगोसियसन भैरहेको रिपोर्ट प्रकाशित गरेका थिए । कतिपय रिपोर्टमा रोनाल्डोले शनिबार नै युभेन्टससँगको नयाँ सम्झौता घोषणा गर्ने बताएका छन् ।

त्यस्तै यता ‘द सन’ ले एक रिपोर्ट प्रकाशित गर्दै रोनाल्डोको पुरानो क्लब म्यान्चेस्टर युनाइटेड रोनाल्डोलाई भित्राउने दौडमा सामेल भएको उल्लेख गरेको छ ।

मिडिया रिपोर्टलाई आधार मान्ने हो भने रोनाल्डो इटाली जान लगभग तय भएको बुझिन्छ । यसै सिजनको च्याम्पियन्स लिगको युभेन्टसविरुद्धको खेलमा रोनाल्डोले गोल हानेपछि युभेन्टसका फ्यानले रोनाल्डोलाई उठेर सम्मान व्यक्त गरेका थिए । त्यसपछि रोनाल्डोले आफ्नो क्यारियरमा यस्तो कहिल्लै नभएको भन्दै युभेन्ट्सका फ्यानहरु प्रति उच्च सम्मान व्यक्त गरेका थिए ।

मिडिया रिपोर्ट अनुसार रोनाल्डोलाई युभेन्टसले ८८ मिलियन पाउण्ड तिरेर भित्राउन लागेको छ । रोनाल्डोका एजेन्टले पनि रोनाल्डोले यस सिजनमा रियल म्याड्रिड छोड्ने बताइसकेकाले अब रोनाल्डोले रियल छोड्ने कुरामा भने कुनै शंका देखिदैन ।

रोनाल्डोले च्याम्पियन्स लिगको फाइनल खेल पछि आउद सिजनमा रियलमा नबस्ने संकेत गरेका थिए । रोनाल्डो र रियल म्याड्रिडबीच रोनाल्डोलाई दिइने पारिश्रमिकका विषयमा विवाद रहेको छ । रोनाल्डो बर्षको उत्कृष्ट खेलाडी भएमा रियलले उनलाई विश्वको सबै भन्दा धेरै पारिश्रमिक दिने सहमति अनुसार रियलले पारिश्रमिक नबढाएको भन्दै रोनाल्डोले आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

रियलमा रोनाल्डोको सम्झौता २०२१ सम्म रहेको छ । यसअघि रोनाल्डोलाई फ्रेन्च क्लब पिएसजीले इच्छा देखाए पनि रियलले रोनाल्डोसँग नेइमार र किलियन एम्बाप्पेलाई किन्ने भनेपछि कुरा मिलेको थिएन ।

२००९ मा रेकर्ड ट्रान्सफर शुल्कमा म्यान्चेस्टर युनाइटेडबाट रियल म्याड्रिड आएका रोनाल्डोलाई युभेन्टसले चार बर्षका लागि प्रति साता ५ लाख पाउण्ड पारिश्रमिक दिने प्रस्ताव गरेओ मार्काले उल्लेख गरेको छ ।

रोनाल्डोले अहिले रियलमा ४ लाख ३० हजार पाउण्ड प्रतिसाता पारिश्रमिक पाउदै आएका छन् जबकी उनका प्रतिद्वन्दी लियोनेल मेसीले अहिले ५ लाख ९० हजार पाउण्ड प्रति साताको हाराहारीमा पारिश्रमिक पाइरहेका छन् ।

तपाईको प्रतिक्रिया