असार २९ देखि गोंगबु–सिनामंगल रूटमा चल्दै आएका टेम्पो र माइक्रो हट्ने भएका छन्। यस रूटमा चल्दै आएका यी साना सवारीलाई ठूला बसले विस्थापित गर्ने भएका हुन्। यस रूटमा १७ वटा नयाँ बस चल्ने भएका छन्। यी बस चक्रपथको बाटो नभइ हाल माइक्रो र टेम्पो चल्दै आएको भित्री बाटोबाट गुड्ने बस सञ्चालन गर्ने कम्पनी दिगो सहरी यातायात प्रालिले जनाएको छ।प्रालिका सचिव लालप्रसाद गुरागाईंले बसको प्राविधिक तथा डिपो निर्माणको कार्य सम्पन्न भइसकेको जानकारी दिए। गुरागाईंका अनुसार यी बस एयरपोर्ट–सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवी–डिल्ली बजार­ रत्नपार्क–लैनचौर–सामाखुसी हुँदै नयाँ बसपार्क पुग्नेछन्। फर्किने क्रममा नयाँ बसपार्क–गोंगबु–सामाखुसी–गल्कोपाखा–लैनचौर–जमल–कमलपोखरी ज्ञानेश्वर–मैतीदेवी–पुरानो बानेश्वर–सिनामंगल हुँदै एयरपोर्टसम्म पुग्नेछन्।

हाल सिनामंगलदेखि सुन्धारासम्म र नयाँ बसपार्कदेखि सुन्धारासम्म गरी दुई रूटमा टेम्पो र माइक्रो चलिरहेका छन्। यी दुई रूटलाई एकीकृत गरी एउटै रूट बनाएर बस गुडाउन लागिएको गुरागाईंले बताए। बस सेवा सुरू भएपछि यात्रुलाई सहज हुने गुरागाईंको भनाइ छ।

‘दुई वटालाई एकीकृत गरी एउटा रूटमा परिणत गरेर बस चलाउँदा यात्रुलाई सहज मात्र हुने छैन, यसले सो रूटमा सवारी चाप समेत उल्लेख्य रूपमा घट्ने छ’ गुरागाईंले भने।

यी बस २३ सिट क्षमताका छन् भने ५० जना यात्रु ओसार्न सक्छन्। बसमा सुरक्षा निगरानीका लागि ३ सिसिटिभी, एलइडी टिभी, इन्टरनेटका लागि जिपिआरएस, बस पुगेको ठाउँको जानकारी दिने जिपिएस तथा दुबै ढोकामा सन्देशमुलक डिजिटल बोर्ड रहनेछन्।

यसका साथै बस अपाङ्गमैत्री हुनेछन्। ‘बसमा अपाङ्गता भएका व्यक्तिहरूलाई चढ्न र ओर्लन सहज होस् भनेर चार­बाइ­चार साइजमा डिजाइन गरेका छौं’ उनले भने ‘ह्विलचेयरको समेत व्यवस्था गरिएको छ।’

बस चलिरहेको बेला हुन सक्ने चोरी, वादविवाद वा अन्य कुनै आपतकालीन अवस्था आएमा प्रहरीलाई तत्काल खबर गर्न सकियोस् भनेर चालकलाई सञ्चार सेटको उपलब्ध गराइने उनले जनाए। नयाँ आउने बसमा युरो तीन मापदण्डको इन्जिन प्रयोग हुने भएकाले गुड्दा कार्बन उत्सर्जनको परिमाण समेत न्यून हुने गुरागाईंले दाबी गरे।

यसबाहेक ती बसलाई बन्दको समयमा समेत चलाइने गरी योजना बनाइएको उनले बताए। ‘सरकारी आयोजनाअन्तरगत हामीले बस ल्याउने भएकाले यी बसहरू जुनसुकै हड्तालमा पनि गुड्ने छन्। त्यसका लागि साझाझैं यसमा पनि सरकारले सुरक्षा प्रदान गर्नेछ’, उनले भने। त्यस्तै साझा बसको मोडलझैं यी बस पनि बिहान र बेलुकाको छुट्ने समय एकरूपता हुनेछ भने बस निश्चित डिपोबाटै छुट्ने र बिसाउने गर्नेछन्। श्रोत – सेतोपाटी

तपाईको प्रतिक्रिया