काठमाडौं । रियल मड्रिडका फर्वाड क्रिष्टियानो रोनाल्डो युभेन्टस जाने पक्का भएको छ । रोनाल्डो इटली जाने चर्चा चलेको केही दिनपछि मड्रिडले त्यसलाई औपचारिक पुष्टि गरेको हो । यससँगै रोनाल्डो १० वर्षे बेर्नाबाउ यात्रा अन्त्य भएको छ । ३३ वर्षीय रोनाल्डोले रियल मड्रिडमा रहँदा चार पटक च्याम्पियन्स लिगको उपाधि उचाले ।

उनी २००९ मा म्यानचेष्टर युनाइटेडबाट रियल मड्रिड आएका थिए । उनले क्लबका लागि ४५१ गोल गरे भने ५ पटक बालोन डि’ओर अवार्ड पनि जितेका छन् ।

रोनाल्डो युभेन्टस जाने भैसकेपछि अब रोनाल्डोको ठाउँमा रियल म्याड्रिडले कसलाई भित्र्याउने छ भन्ने चर्चा सुरु हुन् थालेको छ । रोनाल्डोले रियल मिड्रड छोडेपछि उनको ठाउँ लिने सम्भावित खेलाडीको नाम बाहिर आउन थालेका छन् ।

फुटबल लण्डनका अनुसार यो सूचिमा चेल्सीका इडन हजार्डलाई रियल मड्रिडले अघिल्लो नम्बरमा राखेको छ । २७ वर्षका हजार्डले चेल्सी छोड्न चाहेमा उनी रियलको रोजाइमा पर्न सक्ने छन् ।

बेलायती पत्रिका मिररका अनुसार चेल्सीमा बसेमा हजार्ड आउँदो सिजन च्याम्पियन्स लिग बिहीन हुनेछन् । यही कारण उनी रियल जान सक्ने सम्भावना छ ।

उनीसँगै पिएसजीका केलियन एमबाप्पे र नेइमार, टोटनह्यामका ह्यारी केन, लिभरपुलका मोहम्मद सालहमाथि पनि रियलको नजर रहेको छ ।

तपाईको प्रतिक्रिया