मस्को (एजेन्सी)– रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा बुधबार राति इंग्ल्याण्ड र क्रोएसियाबिच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति पौने १२ बजे मस्कोमा रहेको रंगशालामा हुनेछ । बेल्जियमलाई १–० ले हराउँदै फ्रान्स फाइनल पुगिसकेको छ ।

दुवै टोली लामो समयपछि सेमिफाइनल पुगेका हुन् । क्रोएसिया २० वर्षपछि र इङ्ल्यान्ड २८ वर्षपछि अन्तिम चारमा पुग्न सफल भएको हो । इङ्ल्यान्डले सन् १९९० र क्रोएसियाले १९९८ को सेमिफाइनल खेलको थिए ।

अहिले सम्म फाइनल पुग्न नसकेको क्रोएसिया १९९८ मा आयोजक फ्रान्ससँग सेमिफाइनलमा पराजित भएको थियो । इङ्ल्यान्ड विश्व कप इतिहासमा एकपटक मात्र १९६६ फाइनल पुगेको थियो र टोली त्यहि बेला च्याम्पियन बनेको थियो ।

विश्वकपको सुरुवातीमा यी दुवै टोली यहाँ सम्म पुग्लान् भन्ने धेरेको अनुमान थिएन । समूह चरणबाट सहज रुपमा अघि बढेपनि क्रोएसियाले नकआउट चरणमामा डेनमार्क र आयोजक रसियालाई क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा पुगेर हराएको थियो ।

अर्को तिर समूह चरणबाट त्यस्तै सहजै अघि बढेको इङ्ल्यान्डले अन्तिम १६ मा कोलम्बियालाई पेनाल्टी सुट आउट र क्वार्टरफाइनलमा स्विडेनलाई २–० ले हराएको थियो ।

समग्रमा यी दुईबिच अहिलेसम्म सातपटक भेट भएको छ । यसमा इंग्ल्याण्ड चारपटक विजयी भएको छ भने क्रोएसियाले दुईपटक जितेको छ । एकपटक बराबरी भएको छ ।

क्रोएसियाले पछिल्लो पटक सन् २००७ को नोभेम्बरमा युरोकप छनौटमा इंग्ल्याण्डलाई ३–२ ले हराएको थियो ।

तपाईको प्रतिक्रिया