काठमाडौं ।  रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्ट्समा आवद्ध भएका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै क्लबले रोनाल्डो १ सय ५ मिलियन पाउन्डस्टर्लिङ्मा युभेन्ट्स गएका उल्लेख गरेको छ। रोनाल्डोले समेत सो सहमती पत्रमा हस्ताक्षर गरिसकेको क्लबले जानकारी दिएको छ।

रोनाल्डो सन् २००८ मा इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट रियलमा ८० मिलियन पाउण्डमा आएका थिए। ९ वर्षे रियल बसाईका क्रममा ३३ वर्षिय रोनाल्डोले रियललाई दुई ला–लिगाको उपाधि र ४ च्याम्पियन्स ट्रफि दिलाएका थिए। रोनाल्डोले पाँच पटक सर्वोत्कृष्ट खेलाडीका रुपमा ब्यालोन डि ओर को उपाधि समेत प्राप्त गरिसकेका छन् भने क्लबका तर्फबाट हालसम्म सर्वाधिक गोल कर्ताका रुपमा समेत रहिसकेका छन्।

रियलका तर्फबाट ४ सय ३८ खेल खेलेका रोनाल्डोले ४ सय ५१ गोल गरेका छन्। रोनाल्डोले आफ्नो फुटबल करियरमा आफ्नो राष्ट्र र क्लबकालागि गरेर कुल ६ सय ७० गोल गरेका छन्।

रियललाई छोडेर युभेन्ट्समा गएका रोनाल्डोले आफुले क्लबमा विताएको समय आफ्नो जिवनकै सबैभन्दा खुसीको क्षण भएको बताए। क्लब र समर्थकहरुले आफुलाई दिएको माया,स्नेह विर्सन नसक्ने बताउँदै रोनाल्डोले रियलमा विताएका ९ वर्षलाई सुनौला वर्षको संज्ञा दिए। आफ्नो फुटबल जिवनले अब नयाँ मोड लिएको बताउँदै रोनाल्डोले आफु जहाँ भएपनि क्लब र समर्थकले दिएको माया र जर्सीलाई कहिल्यै भुल्न नसक्ने बताए।

जाँदाजाँदै उनले रियल म्याड्रिडको नाममा लेखेको पत्र यस्तो छ : 

मड्रिड सहर र रियल मड्रिड क्लबमा मैले बिताएको समय सम्भवतः मेरो जीवनकै सबैभन्दा खुसीको क्षण हो । क्लब, समर्थक र पूरा मड्रिड सहरले म प्रति देखाएको सद्भाव र माया प्रति आभार व्यक्त गर्दछु ।

यद्यपि आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्ने समय आएको महसुस गरेर नै मैले क्लबलाई युभेन्टस जानका लागि बाटो खुला गरिदिन भनेको थिएँ । मैले यहाँ जीवनको उत्कृष्ट नौ वर्ष बिताउन पाएँ । त्यो नौ वर्ष मेरो जीवनकै महत्वपूर्ण समय समेत थियो । क्लबमा बिताएको समय निकै रोमाञ् चक थियो, एकपछि अर्को सफलता थियो र क्लबको उच्च अपेक्षाका कारण कुनै समय निकै कठिन पनि थियो । तर, यहाँ फुटबल खेल्दा म जति रमाएँ त्यति कतै पनि रमाउन सक्नेछैन ।

 

माया गर्ने टिमका साथीहरुँग ड्रेसिङ रुम र मैदानमा सँगै खेल्न पाएँ । समर्थकहरुको माया र टिमका साथीहरुको सहयोगका कारण हामीले लगातार तीन पटक र पाँच वर्षको अन्तरालमा चारवटा च्याम्पियन्स लिगको उपाधि उचाल्यौँ । यससँगै व्यक्तिगत रुपमा चार पटक बलोन डी ओर र तीन पटक गोल्डेन सुज जित्दा निकै सन्तुष्ट छु । क्लबमा भएका सबै कुरा महत्वपूर्ण रह्यो ।

रियल मड्रिडले मेरो र परिवारका सदस्यको मन जितेको छ । त्यसैले क्लबप्रति कृतज्ञ छु । सहज रुपमा क्लब सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका अध्यक्ष, क्लबका निर्देशक, सह–खेलाडी, प्रशिक्षण दल, चिकित्सक टोली, फिजियो र कर्मचारीहरु पनि कृतज्ञता व्यक्त गर्दछु ।

स्पेनिस फुटबलसँगै पुनः हाम्रा फ्यानहरुलाई धन्यवाद दिन चाहन्छु । नौ वर्षको अन्तरालमा मैले विश्वका अद्भूत खेलाडीको विपक्षमा रहेर खेल्ने मौका पाएँ । उनीहरु सबै प्रति सम्मान व्यक्त गर्दछु ।

नयाँ अध्याय सुरु गर्नु अघि गम्भीर विचार गरेको थिएँ । तर क्लब छोडे पनि जर्सी, ब्याज र सान्टियागो बर्नाबाउप्रतिको निष्ठा रहिरहनेछ । सबैलाई धन्यवाद । नौ वर्षअघि सान्टियागो बर्नाबाउमा टेक्दा जे भनेको थिएँ, त्यही दोहोर्‍याउन चाहन्छु । हाल मड्रिड !

तपाईको प्रतिक्रिया