काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकको बेहाल अवस्था सुधार्नका लागि निर्देशन दिएकै दिन आज राजधानी काठमाडौंको सडकमा बेहाल दृश्य देखिए । बुधबार दिउसो परेको झरीले काठमाडौंमा दर्जनौं सवारी साधनहरू डुवानमा परेका तस्बिर र भिडियो भाइरल बनेको छ भने काठमाडौंको जनजीवन र सडक अस्तव्यस्त बन्यो । चावहिल क्षेत्रको एक पार्किङ लटमा रखिएका सवारी साधन पानी परेपछि जम्मा भएको भेलमा डुबे पछि त्यो दृश्य सामाजिक संजाल र अनलाइन मिडियाहरूमा भाइरल बनेको छ ।

चावहिल गोपीकृष्ण नजिकै कार र मोटरसाइकलहरू डुबानमा परेका हुन् । उता बौद्ध-जोरपाटी सडकमा आज झनै बढी सास्ति खेप्नु पर्यो । पानी परेपछि खोलो जस्तो बनेको यो सडकमा सवारीहरू तैरिएर गुडेका देखिन्थे । राजधानीका सडकमा बर्खायाममा जम्मा हुने पानीको उचित निकास नहुँदा बर्षेनी सवारी साधन र यात्रुहरू बगाउने सम्मका घटनाहरू भएका छन् । गतबर्ष सडक किनाराको ढलमा बगेर सामाखुसीमा स्कुले छात्रा सत्या सापकोटा बगेको भिडियो विश्वभरका मिडियामा भाइरल बनेको थियो ।आज पनि काठमाडौंमा विरलै देखिने दृश्य देखियो र ती दृश्य भाइरल बनेका छन् । हेर्नुस् यो भिडियोः

तपाईको प्रतिक्रिया