काठमाडौं – फ्रान्स र क्रोएसियाबीच विश्वकपको फाइनल खेलमा मैदान भित्र प्रवेश गरेका दर्शक फुटबल समर्थक नभई प्रदर्शनकारी भएको खुलेको छ। दोस्रो हाफको ५२ मिनेटमा पुलिसको पोसाक लगाएर मैदान भित्र प्रवेश गरेका तीन प्रदर्शनकारी रुसी शाषक ‘क्रेमलिन’ विरोधी सागेंतिक समूह पंक ब्यान्ड ‘पुसी रायट’ का सदस्य रहेको बताइएको छ।

यसअघि उनीहरू फ्रेन्च युवा स्टार केलियन एमबापेका लागि मैदानमा प्रवेश गरेको समाचार आएको थियो। उनीहरूले कुनै खेलाडीलाई मैदानमा दुःख दिएनन्।

सुरक्षाकर्मीले पक्राउ गरेको एक जना प्रदर्शनकारीले टेलिफोनबाट दिएको जानकारी अनुसार राष्ट्रपति ब्लादिमिर पुटिनको कार्यकालमा रुसमा बढ्दो मानव अधिकार उल्लंघनको घटनालाई विश्व सामू उजागर गर्न आफूहरूले यो उपाय अपनाएको बताएका छन्।

सन् २०१२ मा पुटिनको विरोध गरेको आरोपमा यही समूहका तीन सदस्यलाई जेल चलान गरिएको थियो। तीन प्रदर्शनकारी मैदानको ५० मिटर भागसम्म दौडेर पुगेका थिए। एकजनालाई भने सुरक्षाकर्मीले सुरुमै समातेको थियो।

फाइनल खेल हेर्न रुसी राष्ट्रपति पुटिनसँगै फ्रान्स र क्रोएसियाका राष्ट्रपति पनि भिभिआइपी लाउन्जमा उपस्थित थिए। सुरक्षाकर्मीले एक मिनेटभित्रै स्थितिलाई नियन्त्रणमा लिइसकेका थिए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रंगशालामा बसेर हेरिरहेको खेलमा र कडा सुरक्षा व्यवस्था अपनाइएको यस्तो खेलमा मैदानमा पस्नु चानचुने कुरा हैन। यसको जिम्मा भने पुसी रायट्स नामको एउटा संस्थाले लिएको छ।

तपाईको प्रतिक्रिया