डा. कृष्णप्रसाद ढकाल – विशेष गरी पंचायतकाल पछि फेक मुद्दाहरुमा अल्झाएर मुलुकलाई अघि बढ्न नदिने प्रपंच हुंदै आएका छन्। शक्ति, नाम, र दाम यी तीन चिजका लागि मुलुकलाई डढाएर आगो ताप्न उद्दत मुठ्ठिभर सुकिला मुकिलाहरुको अराजक गतिबिधिले हामी हरितन्नम हुंदै गएका छौं। वर्षौंसम्मको जातीय पहिचानको माग त्यस्तै एउटा फेक माग थियो, मानव सभ्यता विरोधी माग, जसबाट मुलुकले पार पाउन धेरै वर्ष लाग्यो।

अहिले बर्षौंको कोमाबाट मुलुक उठ्न मात्र के खोजेको थियो, अहिले गोविन्द केसीको फेक मागको बहानामा टेकेर त्यस्तै स्वार्थी प्रवृति सम्पूर्ण शक्तिका साथ मुलुकलाई कोमाबाटै उठ्न नदिन कम्मर कसेर लागेको छ: विलकुल फेक माग राख्दै।

डा. केसीको माग निम्न कारणले फेक माग हो:

१) स्कूल र प्लस टु मै नीजिकरण गरेर गुणस्तरीय शिक्षालाई आम जनताको पहुंचबाट अलग गरिएको यथार्थलाई कायम राखेर उच्चशिक्षामा जनताको पहुंचको कुरा गर्नुको कुनै अर्थ छैन। आम जनतालाई स्कूलदेखि नै बाहेक गरिसके पछि तिनको पहुंच उच्च शिक्षामा कसरी हुन्छ? त्यसैले बस्तुगत विश्लेषण गर्ने हो भने जगमा नीजीकरण गरेर माथि सरकारीकरण गर्नु प्रकारान्तरले राज्यको श्रोत धनी बर्गकै सेवामा लगाउनु हो।

२. त्यस्तै शिक्षा र स्वास्थ्यमा निजिकरण गर्ने नीति (जसलाई काङ्ग्रेसले लोकतन्त्र भन्छ, र उसैको निगाहाले हामी यो अस्तव्यस्ता बेहोर्न बाध्य छौ) त्यो नीतिको विरुद्द चुइंक्क नबोली, गुणस्तरका लागि होइन अमुअमुक संस्थालाई रोक लगाउनका लागि यो उपध्रो मच्चाइएको छ। राज्यले बनाएको नीति सबैलाई बराबर हुनु पर्ने हो, तर फल्नाले पाउने तिल्नाले नपाउने भन्ने अचम्मको माग छ डा. केसी र उनको जमातको। कि कसैले पनि नीजि चलाउन नपाउने हुनुपर्यो कि सक्ने र चाहना हुनेले पाउनु पर्यो। कानून सबैका लागि समान हुनु पर्यो। अमुकअमुक संस्थालाई रोक्न गरेको डा. केसीको माग सामान्य कानूनी सिद्यान्तको विरुद्दमा छ। त्यसमाथि जो चोर उसैको ठूलो स्वर गर्दै जोडिएको छ काङ्ग्रेस, जुन अहिलेको बेथितिको एकमात्र कारक हो।

यो अवस्थाको वास्तविक निराकरण कसरी हुन्छ? यसका दुइटा उपाय छन्:

पहिलो, नीतिगत रुपमै शिक्षा र स्वास्थ्यलाई सम्पूर्ण रुपमा सरकारीकरण गर्ने। अहिले अनुमति दिइसकिएका र अस्तित्वमा भैरहेकाहरुलाई पांच वर्षभित्र गैर नाफामुलक सामुदायिक संस्थामा जाने अनिवार्य व्यवस्था गर्ने र नयां खोल्न प्रतिबन्ध लगाउने। त्यसो गर्दा अधिनायकवाद भन्दै यिनै भूइफुट्टाहरु उफ्रिने छन्, तिनको नियतको पनि पटाक्षप हुनेछ। अर्कोतर्फ दिर्घकालीन रुपमा मुलुक र जनताको पक्षमा लोककल्याणकारी शासन व्यवस्थाका निम्ति अचुक माध्यम हुनेछ त्यो।

दोश्रो उपाय हो, राज्यले गुणस्तरको मापदण्ड कडा बनाएर चाहने जति जोसुकैलाई जुन सुकै ठाउंमा खोल्न दिने। पैसा भएकाले तिनै कलेज पढुन, तिनै अस्पताल प्रयोग गरुन्, सरकारले तिनको गुणस्तर मात्र हेरोस्: फि कति लिने, कुन ठाउंमा खोल्ने, कति संख्यामा खोल्ने यो विषय लगानी कर्ताकै जिम्मामा छोड्ने, सरकारले केवल गुणस्तर टाइट गर्ने। हुनेखाने बर्गले खर्च गर्न खोज्छ भने त्यसो गर्न दिंदा के फरक पर्छ? सरकारले सरकारी अस्पताल, स्कूल, कलेजको गुणस्तर र संख्या बढाउने, त्यसमा आर्थिक, सामाजिक, र भौगोलिक हिसाबले आम नागरिकलाई गुणस्तरीय़ शिक्षा र स्वास्थ्य सुबिधा उपलब्ध गराउने।

बहस यसरी हुनुपर्छ। तर डा. केसीको तथ्य र तर्कविहिन, अध्ययन र विश्लेषण विना, लहड र सिलिब्रिटीपनमा लठ्ठिएर गरेको यो नौटंकीले बहसको अवसरलाई नै छोपिरहेछ। रातदिन रट्ने गरिएको माथेमा आयोगको प्रतिवेदन विसुद्द प्राविधिक प्रतिवेदन हो, अर्थराजनैतिक र अर्थसामाजिक सिद्यान्तको जगमा नभै डा. केसीको माग संबोधन गर्ने सर्तमा बनेको आयोगको रिपोर्टको काम छैन। त्यसैले अनसनवाला यौ नौंटंकी बन्द हुनुपर्छ अब। राज्य, जिम्मेवार पार्टी, र जिम्मेवार बुद्दिजिवीले यो अवस्थालाई चिर्दै फेक मागबाट मुलुकलाई अगाडि बढाउनु पर्छ, वास्तविक बहसमा लैजानु पर्छ मुलुकलाई!

बिडम्बना यो छ कि जसरी जातमा विश्वास नगर्ने राजनैतिक दर्शन बोकेको शक्ति नै जातीय़ पहिचानको थोत्रो मागको कारक बनेर आएको थियो, त्यसै गरी अहिले अन्धाधुन्ध नीजिकरण थोपरेर मुलुकलाई यो अवस्थामा पुर्याएको काङ्ग्रेस नै गोहीको रुवाई रुंदै आन्दोलनमा उत्रेको छ। अनि राजैतिक दर्शनका हिसाबले शिक्षा र स्वास्थ्यमा नीजिकरण विरोधी पार्टीको सरकारलाई चैं नीजिकरणको मसिहाको रुपमा चित्रित गरिंदै छ। यी सबै नौटंकी हुन्!!

दशौं वर्ष मुलुकलाई बन्धक बनाइरहेको जातीय राजनीतिको थोत्रो बहसबाट निकालेर विकास र समृद्दीको बहसमा लैजाने नेता अहिले प्रधानमन्त्रीको पदमा छन्। जसरी उनले त्यो बहसको दिसा परिवर्तन गरेर मुलुकलाई ठूलो संकटबाट निकाले, त्यसै गरी यी भूइफुट्टाहरुको यो फेक हर्कतलाई पनि ठेगान लगाउन उनलाई सफलता मिलोस्! अहिलेका जनता सचेत छन्, कसैले शहरका चोकमा डमरु बजाएको भरमा तिनलाई दिग्भ्रमित गर्न सकिन्न भन्ने कुरा ति डमरु बजाउनेले समयमै बुझुन्। र मुलुक र आफ्नो समय वर्वाद नगरुन् !!

तपाईको प्रतिक्रिया