काठमाडौंः गाउपालिकाले हेलिकप्टर प्रवेशमा निषेध लगायो भन्दा पत्यार नलाग्न सक्छ । तर भयो त्यस्तै, कास्कीको अन्नपूर्ण गाउँपालिकाले आफ्नो सीमा भित्र हेलिकप्टर प्रवेशमा निषेध गरेको छ ।

गाउँपालिकाले अन्नपूर्ण संरक्षित क्षेत्रका चराचुरुंगी र वन्यजन्तुलार्ड असर परेको भन्दै हेलिकोप्टर अवतरणमा रोक लगाएको हो । उद्दारका लागि अरु बेला हेलिकोप्टर अवतरण गर्दा त्यसबाट आउने आवाज र भ्राइबेसनले वन्यजन्तु नै भागेका कारण गाउँपालिकाको चौथौ गाउँसभाले यस्तो निर्णय गरेको हो ।

यता सरकारले भने पर्यटन प्रवद्र्धन गर्न भन्दै एक गाउँ एक हेलिप्याड निर्माण बनाएको छ । तर, अन्नपूर्ण गाउँपालिकाले भने हेलिकोप्टर अवतरणमा नै रोक लगाएको हो ।

पछिल्लो समय हेलिकोप्टरमार्फत अन्नपूर्ण, माछापुच्छ्रे क्षेत्रमा जाने तथा घुम्ने पर्यटक बढेका थिए । गाउँपालिकाको यो निर्णय भदौ महिनादेखि लागू हुनेछ । प्रकृतिक सम्पदाको संरक्षणका लागि यस्तो कदम चालिएको गाउँपालिकाले जनाएको छ ।

अन्नपूर्ण बेसक्याम्पमै हेलिकोप्टरमा जान पाइन्थ्यो । पैसा हुनेहरु हेलिकोप्टरमा गएर हिउँमा खेलेर फर्किने गरेका थिए । केही हेलिकोप्टर कम्पनीले अहिले पोखरादेखि अन्नपूर्ण बेसक्याप र माछापुच्छे आसपाससम्म यात्रु लिएर जाने गरेका छन् ।

यसले अन्नपूर्ण जोन पर्यटकको संख्यामै कमी आउन सक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया