काठमाडौंः जापानको एक विद्यालयमा तीन हजार थान बन्दुक फेला परेका छन् । एक प्राथमिक विद्यालय परिसरबाट दोस्रो विश्वयुद्धको समयका ती हतियार फेला परेको अधिकारीहरुले बताएका छन् ।

टोकियो महानगरको निसिटोकियो क्षेत्रमा रहेको तानासी प्राथमिक विद्यालयको भवन निर्माणका लागि जमिन खन्ने क्रममा भेटिएका एक हजार ४०० बन्दूक, एक हजार २०० खड्ग , आठ थान हाते बम र ३०२ थान गोली भेटिएको हो ।

उक्त महानगरका अधिकारी मासाकी फुजिसावाले भनेकी छन्, ‘विद्यालय परिसरमा हतियार फेला परेको खबरले शुरुमा हामी आश्चर्यमा पर्यौँ । सबै हतियार खिया लागेको अवस्थामा फेला परेपछि तिनीहरू लामो समय पहिले अर्थात् दोस्रो विश्वयुद्धको समय जमिनमुनि गाडिएको विश्वासमा सम्बन्धित अधिकारीलाई अनुसन्धानका लागि जिम्मा लगाएका छौँ ।’

भेटिएका कुनैपनि हतियार प्रयोगमा आउनसक्ने अवस्थामा नरहेकासमेत उहाँको भनाइ थियो । हतियार जापानले दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गरेपछि सन् १९४५ मा जमिनमुनि गाडिएको हुनसक्ने बताइएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया