काठमाडौंको विर अस्पतालमा एउटा बेडमा २० वर्षका युवा हल न चल भएर लडेका छन् । उनका सुसारमा लागेकी ६० वर्षीया वृद्धा आमा तारा बम छोरालाई खुवाउने औषधि नपाएर छटपटिएकी छन् । चार महिना देखि यसरी मुढो झैँ लडेको छोरालाई हेरीरहन्छीन् । चिकित्सकले यो औषधि ल्याउनु भनेर बिल थमाउँदा उनको मन अमिलो हुन्छ । उनको जिवनको त्यही एउटा सहारा त्यो पनि यसरी लडिरहेको छ । त्यसैलाई बचाउने उनीसंग उपाए छैन । ‘त्यसलाई खुवाउने खाना त छैन औषधि कसरी किन्नु, उनले भक्कानिएको श्वरमा भनिन्, औषधि पसलमा ऋण तिर्न त्यसै छ । फेरी बिल लिएर जान सन्दिन । खाने कुरा नभएर वरपरका बिरामीका कुरुवाले दिएको खाएर बाँचेका छौं ।’

मुगु पिना गाविसकी तारा बमको जिवन कुनै उपन्यासमा उल्लेख हुने पीडादायी कथा भन्दा कम छैन । उमेरले ६० काटेकी उनले गतवर्ष आफ्ना जिवनसाथी गुमाइन् । क्यान्सर लागेर थला परेका पतिको उपचार गर्दा बसेको बास सकियो । कमाउने खेतबारी सबै बेच्नु पर्यो । त्यसले पनि नपुगेर गोठका गाई बेचिन् । तर उनले पतिलाई बचाउन सकिनन् ।

ओत लाग्ने छत र टेक्ने धर्ती नै सकिए पनि जिवनको एउटा आधार थियो । त्यो हो उनको २० वर्षीय छोरा । विपन्न परीवारकी तारा छोराको मुख हेरेर त्यही छोराबाट जन्मिएको नाती खेलाएर जिवनको उत्तरार्ध काटिरहेकी थिइन् । तर गएको मंसिरमा उनले काखमा खेलाउंदै गरेको नाती गुमाइन् । पति गुमाएको पीडा कम हुन पाएको थिएन त्यो आलो खाउमा नाती बितेपछि झन ठुलो घाउ थपियो । उनको दिन काट्ने जिवन गुजार्ने बाटो हरायो ।

त्यसै बिचमा कुनै गैरसरकारी संस्थाले दिएको सहयोगवाट गाई र बाख्रा पालेर दिन गुजार्न थालिन् । त्यही बाख्रालाई डाले घाँस काट्न रुखमा चढेको २० वर्षको छोरा विशाल रुखवाट लडेर सिकिस्त भए । उनको मेरुदण्ड भाँचिएको छ । ओल्टेकोल्टे गर्न मिल्दैन ।

छोरालाई उपचारका लागि नेपालगन्ज ल्याएकी उनले गैरसरकारी संस्थाको सहयोगमा किनेका दुईवटा गाई बेचिन्, संस्थावाट १९ हजार ऋण लिइन् बाँकी साहुसंग ऋण लिएर उपचार गरीन् । नेपालगन्जमा एक लाख रुपैया सकिए पछि काठमाडौं रेफर गरिदिए । अब बेच्न बाँकी केही छैन । ऋणले पत्याउने पनि कोही छैनन् । ताराको भविष्य विर अस्पतालको वेडमा इन्तु न चिन्तु परेर लडिरहेका छन् । उनी आफैलाई पनि ७ वर्ष अघि अल्सर भएर औषधि खाइरहनुपर्छ । ‘यहां पनि तीन महिना उपचार पछि शल्यकृया गर्नुपर्छ भनेका छन्, छोरालाई सुताउन प्वाल भएको पलङ्ग ल्याउनु भनेका छन्, उनले रुँदै भनिन्, बिरामी छोरालाई खुवाउन जाउली किन्ने पैसा नभएकी मैले कसरी त्यो सबै जुटाउँ ।’

अहिले सम्म ६ लाख रुपैया उपचारमा खर्च लागेको उनले बताइन् । छोराको मेरुदण्डमा राखेको स्टीलको पैसा पनि तिरेको छैन उनले भनिन् । निरन्तर आँखावाट आँशु निकाल्दै छोराको छेउमा बसीरहेकी उनले कसैसंग सहयोग पनि माग्न सक्ने अवस्थामा छैनन् । संगै आएकी बुहारीलाई पनि माइतिले बोलाएका छन् ।

तपाईको प्रतिक्रिया