काठमाडौंः नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर घटाउन नमान्ने बैंकमाथि कारबाही गर्ने चेतावनी दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अनिवार्य नगद मौज्दात (सीआरआर) २ प्रतिशतले घटाएसँगै बजारमा पर्याप्त तरलता रहेको भन्दै बैंकहरूले अब कर्जाको ब्याजदर घटाउनुपर्ने र घटाउन नमान्नेमाथि कठोररूपमा प्रस्तुत हुने चेतावनी दिएको हो ।

नेपाल बैंकर्स एसोसिएसनले आयोजना गरेको कार्यक्रममा गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकरहरुलाई चेतावनीको शैलीमा भने, ‘प्रहरीले अपराधीलाई गरेजस्तो व्यवहार गर्नु नपरोस् ।’ राष्ट्र बैंकका अनुसार बजारमा अहिले ६६ अर्ब तरलता छ । ‘बैंकहरूले ब्याजदर घटाउन कुनै पनि बहानाबाजी गर्न नपाउने भन्दै घटाउन आनाकानी गर्नेमाथि राष्ट्र बैंक खरोरूपमा प्रस्तुत हुनेछ,’ नेपालले केही बैंकरहरूको नामै लिएर भने, ‘सीआरआर, एसएलआरलगायतका मौद्रिक उपकरण, विदेशबाट ऋण ल्याउन सक्ने व्यवस्थालगायतका कारण बजारमा लगानीयोग्य रकमको अभाव हुँदैन ।’

चालू आर्थिक वर्षको मौद्रिक नीतिले वैधानिक तरलता अनुपात (एसएलआर) वाणिज्य बैंकलाई १२ प्रतिशतबाट घटाएर १० प्रतिशत, विकास बैंकका लागि ९ प्रतिशतबाट ८ प्रतिशत र फाइनान्स कम्पनीका लागि ८ प्रतिशतबाट ७ प्रतिशतमा झारेको छ । यस्तै, पछिल्लो तीन हप्तामा राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत ९३ अर्ब २५ करोड रुपैयाँ तरलता बजारबाट उठाएको छ ।

यसले पनि अब ब्याजदर घट्न सहज हुने गभर्नर नेपालको भनाइ छ । अहिले अधिकांश बैंकको बेसरेट (आधार मूल्य) नै बढी भएकाले ऋणको ब्याजदर घट्न सकेको छैन । अधिकांश बैंकहरूको बेसरेट ११ प्रतिशतसम्म छ ।

कार्यक्रममा नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले नेपाल राष्ट्र बैंकले बैंकहरूलाई दिएको सीआरआर (अनिवार्य नगद अनुपात) सीमामा कमी, विदेशबाट साथै भारतबाट पनि ऋण ल्याउन सक्नेजस्ता सुविधाले त्यसको असर देखिन आर्थिक वर्षको कम्तीमा एउटा त्रैमाससम्म कुर्नुपर्ने बताए ।

असोज महिनाअगाडि कर्जाको ब्याजदर घटाउन नसकिने उल्लेख गर्दै उनले भने ‘ब्याजदर एकैपटक घट्दैन, ब्याजदर घट्न कम्तीमा पनि पहिलो त्रैमासम्म कुर्नुपर्छ ।’ मौद्रिक नीतिले क, ख र ग वर्गमा बैंकलाई अनिवार्य नगद अनुपात (सिआरआर) ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको आजको कारोबारले लेखेको छ ।

यसअघि वाणिज्य बैंकले ६ प्रतिशत, विकास बैकले ५ प्रतिशत र फाइनान्स कम्पनीले ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था थियो । ढुंगानाले भने ‘हाल लगानीकर्ताले १०(१५ प्रतिशत प्रतिफल पाउँछन भन्यो भने निराश हुने हुँदा योभन्दा बढी प्रतिफल आउने अवस्था छैन ।’

दूर्गममा शाखा खोलेकोले बैंकहरूको सञ्चालन खर्च बढेको, निक्षेपको सुरक्षण २ लाखबाट ३ लाख रुपैयाँसम्म पुयाइएको लगायत कारणले पनि नाफा धेरै बढ्न नसक्ने उनले बताए ।

गभर्नरले नेपालले बैंकमा पर्याप्त तरलता रहेका बेला कर्जा लिनुको साटो तरलता अभावका बेला कर्जा पाइएन भनेर गुनासो गर्ने काम बन्द गर्न उद्योगी व्यवसायीसँग आग्रह गरे ।

ढुंगानाले सीआरआर घटेपनि अधिकांश बैंकहरूको आधार दर अझै पनि दोहोरो अंकमा रहेकाले कर्जाको ब्याजदर ७/८ प्रतिशतमा झार्न सम्भव नरहेको बताएका थिए ।

वाणिज्य बैंकहरूमा कर्जाको ब्याजदर ११ प्रतिशतभन्दा माथि रहेकामा नेपाल उद्योग वाणिज्य महासंघले बुधबार वीरगञ्जमा राष्ट्रिय भेला गरी उद्योग व्यावसायको क्षेत्रमा ८ प्रतिशतभन्दा न्यून ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्न माग गरेको थियो ।

तपाईको प्रतिक्रिया