काठमाडौं: देशभरका २५ भन्दाबढी स्थानमा केवलकार निर्माणका लागि आवेदन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवेदन गरेका स्थानमा अध्ययनका लागि स्वीकृतिको प्रकृया सुरु गरेको छ ।

जटिल पहाडी भुगोलमा यातायातको सहज व्यवस्थाका लागि केवलकार नै उपयुक्त विकल्प मानिन्छ । सहज यातायात सञ्जालको विकास तथा विस्तार गर्ने र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने लक्ष्यका साथ पछिल्लो समयमा केबलकार निर्माणमा लगानीकर्ताहरुले चासो दिन थालेका छन् ।

मन्त्रालयका अनुसार दुर्गम क्षेत्रमा सहज यातायात सञ्चालनका लागि केवलकारको माग गर्दै आउने संख्या पछिल्लो दिनमा बढ्दै गएको छ । मनकामना दर्शन प्रालिले मनकामनामा केवलकार निर्माण गरेपछि नेपालमा केवलकारको युग शुरु भएको मानिन्छ ।

मनकामना पछि राजधानीको चन्द्रागिरिमा केवलकार सञ्चालनमा आएको हो । देशका एक दर्जनभन्दा बढी स्थानमा केबल निर्माण भइरहेको छ । दोलखाको कालिञ्चोक, पोखराको फेवातालदेखि सराङकोट र पाथीभरामा केबलकार निर्माणको प्रक्रिया अगाडि बढिसकेको मन्त्रालयले जनाएको छ ।

भक्तपुरको सूर्यविनायकमा लिक सेवा र बूढानीलकण्ठदेखि शिवपुरी डाँडासम्म त्रिवेणी केबलकार प्रालिले अध्ययन अनुमति मागेका छन् । त्यस्तै मौलाकालिका डेभलपमेन्ट प्रालिले देवघाटदेखि मौलाकालिकासम्म केबलकार अध्ययनको अनुमति मागेको छ । दिव्य दर्शन प्रालिले मुक्तिनाथ मन्दिर, स्वर्गद्वारी र पाथीभरामा पनि केबलकार निर्माणका लागि चासो व्यक्त गरेको छ ।

काठमाडौँ उपत्यकाको बोहोराटार–नागार्जुन डाँडा जामाचोमा पनि अध्ययनका लागि स्वीकृति मागिएको छ । नागार्जुन केबलकार प्रालिले अध्ययन अनुमति मागेको मन्त्रालयले जनाएको छ । मुक्तिनाथ दर्शन प्रालिले पोखराको वीरेठाँटीदेखि कागबेनी हुँदै रानीपौवा मुक्तिनाथ मन्दिरसम्म पनि केबलकार निर्माणका लागि अध्ययन अनुमति माग्दै मन्त्रालयमा आवेदन दिएको थियो । सो केबलकार निर्माणका लागि आवश्यक सहजीकरणको काम लगानी बोर्डले समेत गरि रहेको छ ।

नवलपरासीको रानीतालदेखि मौलाकाली मन्दिरसम्म केबलकार निर्माणका लागि दुईवटा प्रस्ताव आएको छ । उता प्यूठानको घण्टीखोलादेखि स्वर्गद्वारी मन्दिरसम्म केबलकार निर्माणका लागि स्वर्गद्वारी दर्शन प्रालिले अनुमति मागेको छ । ललितपुरको गोदावरीदेखि फूल्चोकीसम्म केबलकार निर्माणका लागि सिद्धेश्वर पर्यटन सहकारी र युवा जागरण पर्यावरणीय मञ्चले अध्ययन अनुमति मागेको छ ।

मनकामना दर्शन प्रालिले कास्की पुम्दी भुम्दीमा एक किलोमिटर लामो केबलकार निर्माणका लागि अध्ययन अनुमति मागेको छ । मन्त्रालयका अनुसार रसुवाको गोसाइँकुण्डसम्म पु¥याउने गरी चारवटा प्रस्ताव आएको छ ।

रोपवे नेपालले बन्दीपुर, मौलाकालिका, लुक्ला, बुटवलदेखि पाल्पाको मणिमुकुन्द सेनको दरबारसम्म जाने केबलकार निर्माणका लागि आवश्यक सहजीकरण गरिरहेको छ । नेपालमा विशेष गरी स्वीटजरल्याण्ड, अष्ट्रिया, भारत र जर्मनीको प्रविधि भित्र्याउने गरिएको छ ।

तपाईको प्रतिक्रिया