बुटवलका दुई जुम्ल्याहा दाजु भाई लबकुसले बनाए जस्तै अर्को रोवर्ट रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. ३ का एक युवकले बनाएका छन । मानव जस्तै बोल्ने रोवर्ट र मोटरसाईकल कञ्चन गाउपालिका रुद्रपुरका सुविन विश्वकर्माले बनाएका हुन ।

सुविन सुनारले बनाएको रोवर्ट यान्त्रिक मानव जस्तै छ । हातहरु चलाउने, बोल्ने र केही मिटर सम्म हिड्न सक्छ । हाडवेयर, सफ्टवेयर यो रावर्टमा जडान भएको छैन । कवाडका सामानहरु र काठका टुक्राहरु गासेर बनाइएको यो रोवर्ट सुविनले एक बर्षको मेहनतमा बनाएका हुन । कक्षा १० सम्म मात्र अध्ययान गरेका सुविन आर्थिक अभावका कारण उच्च शिक्षा पढ्न पाएनन् । दुई बर्ष रोजगारका लागि भारत गएका उनले पुनः नेपाल आएपछि रोवर्ट बनाएका हुन । “०७२ सालमा एसईई गरेपछि उच्च शिक्षा पढ्न पैसा भएन” सुविनले भने–“दाजुहरु संग भारत गए दुई बर्ष उतै बसेर फर्केर आएर यो रोवर्ट बनाए”

४० हजार खर्चमा बनेको यस रोवर्टमा हातहरुमा मोटरहरु प्रयोग गरिएको छ । संघ संस्था कसैको सहयोग पाए ईन्जिनियर पढेर रोवर्टलाई काम गर्न सक्ने बनाउने उनको लक्ष्य छ । १९ बर्षिय सुविनले यस अघि एक मिटर सम्म माथी उड्न सक्ने हेलिकप्टर बनाएका थिए । “हेलिकप्टर बनाएर पनि परिक्षण गरेर उडाए, माथी सम्म उड्न नसकेपछि त्यसलाई बीचमै छाडेर रोवर्ट बनाउन लागे” उनले भने ।

७ जना दिदि बहिनी, ४ जना दाजुभाई र बुवा आमा गरी सुविनको १३ जनाको परिबार छ । उनी परिबारका साईला सदस्य हुन । दाजुहरु बाट सहयोग नपाएपनि बुवा छोराको यो आविश्कारबाट भने सन्तुष्ट छन् । “पढाउनलाई पैसा भएन, भारत जान्छु भन्यो हुन्छ जा भने, अलिअलि पैसा पनि कमाएछ, दाजुलाई दिने गर्दे रहेछ । दाजुले घर पैसा पठाउदा मेरो तलव भन्ने तर भाईको पठाउँदो रहेछ, विचार यसको पैसा सवै दाईले खाईदिएछ” बुवा हरिलाल सुनारले भने ।

पढ्न त्यति ध्यान नदिएपनि सुविन विभिन्न आकृति बनाउन धेरै ध्यान दिने गरेको बुवा हरिलाल बताउँछन ।“यहिको सरास्वती माध्यमिक विद्यालयबाट सि ग्रेटमा एसईई गरेको हो” पढ्नलाई औषत नै हो तर यस्ता सरसामान बनाउन निकै रुचाउँछ” उनले भने ।

सुविनले रोवर्टको अलवा मोटरसाईकल समेत बनाएका छन । साईकलमा मोटरसाईकलको ईन्जिन प्रयोग गरी बनाएको छ । सुविन अहिले त्यहि मोटरसाईकलमा बजारमा दौडिन्छन । “साईकलमा मोटरसाईकलका केही ईन्जिनहरु प्रयोग गरेर बाईक बनाएको हुँ” उनले भने–“यो बाईक बनाउँदा ६ महिना लाग्यो ।” ईन्जिनियरिङ ज्ञान नभएपनि सुविनको क्षमता देखेर गाउपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । “गाउपालिका भित्र यस्तो प्रतिभा रहेछ भन्ने थाहा भएन, पछि वडा अध्यक्ष मार्फत कुरा आउँदा हामीले उनलाई अनुदान स्वरुप ४० हजार दियौ” कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण क्षेत्रीले भने ।

आर्थिक अभावमा एसईई गरेर मात्र घरमै बस्दै आएका सुविन आर्थिक सहयोग मिलेमा पढ्ने बताउँदै आएका छन । ईन्जिनियर पढ्ने र रोवर्ट लाई काम गर्न सक्ने बनाउने उनको योजनालाई साकार बनाउन तपाई हामीले पनि केही गर्न सकिन्छ कि ।

तपाईको प्रतिक्रिया