काठमाडौँ – आइतवार काठमाडौँको गोंगबुबाट एकजना ९ वर्षीय बालक बेपत्ता भए । तनहुँको शुक्लागण्डकी नगरपालिकाका निवासी सीता महतले आफ्ना नौ वर्षीय छोराको अपहरण भएको भन्दै प्रहरीमा उजुरी समेत दिइन् । आइतवारै काठमाडौं आएकी उनले छोरो सिजान्त महत अपहरणमा भएको भन्दै उजुरी दिएपछि काठमाडौँका सबै प्रहरी युनिट एकै पटक एलर्ट भए ।

भर्खरै काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्काको हत्या भएको घटना सेलाउन नपाउँदै अर्का बालकको अपहरण भएको उजुरीले प्रहरीका सबै युनिटलाई एकसाथ एलर्ट गराएको थियो । महानगरीय प्रहरी परिसर र अपराध महाशाखासहितका टोली अनुसन्धानमा जुटे । सुक्ष्मरुपमा अनुसन्धान गर्ने क्रममा प्रहीले सीता र उनका पतिबीचको घरझगडासम्मको कुरा पत्ता लगायो ।

अर्कातिर अपहरणमा परेका भनिएका सिजान्तको खोजी गर्न प्रहरी टोली सक्रिय भयो । त्यसक्रममा तनहुँबाट एकै सिटमा बसेर आएका भनिएका दिलबहादुर कार्कीमाथि प्रहरीले अनुसन्धानको तीर सोझ्यायो । सुरुमा फराकिलो दायारमा अनुसन्धान गरेको प्रहरीले केही घण्टामै अनुसन्धानको दायरा साँघुरो बनायो । यसो गर्नुको कारण थियो बालकको अपहरण नभइ आफन्तकै घरमा भेटिनु ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाका अनुसार बालकलाई आमाले राख्ने कि बाबुले राख्ने भन्ने विवादका क्रममा यस्तो समस्या उत्पन्न भएको हो । ‘पति-पत्नीको घरझगडाका कारण बालकलाई लगिएको रहेछ’, थापाले भने, ‘हामीले सुक्ष्मरुपमा अनुसन्धान गरेपछि उनका आफ्नतकहाँ नै उनी सुरक्षित रहेको भेटायौँ ।

सीताले प्रहरीमा भने काठमाडौंको गोंगबुमा उत्रिएपछि गाडीमै परिचय गरिएका कार्कीलाई छोरो र आफ्नो झोला हेर्न लगाएर चर्पी जाँदा बेपत्ता भएको उजुरी दिएकी थिइन् । उनले कार्कीले नै अपहरण गरेको जिकिर पनि गरेकी थिइन् । तर प्रहरीले अनुसन्धान अघि बढाउँदा बाबुआमाको झगडाको घानमा बालक छोरो परेको पत्ता लागेको थापाले जानकारी दिए । अन्नपूर्ण पोस्टमा खबर छ ।

तपाईको प्रतिक्रिया