काठमाडौंः स्पेनिस ला लिगाको नयाँ सिजनका खेल नेपाली दर्शकले टेलिभिजन च्यालनबाट नभई फेसबुकमार्फत हेर्नुपर्ने भएको छ । फेसबुकले भारतीय उपमहाद्वीपमा ला लिगाका ३ सय ८० खेल नै प्रत्यक्ष प्रसारण गर्ने अनुमति लिएपछि नेपालमा पनि टेलिभिजन च्यानलमा खेल नआउने भएको हो ।

नेपालसँगै भारत, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र पाकिस्तानमा ला लिगा फेसबुकमार्फत मात्र आउने छ । जहाँ ३ सय ४८ मिलियन फेसबुक प्रयोगकर्ताहरु रहेको बताइन्छ ।

फेसबुकले आउँदो एक सिजनको लागि मात्रै नभएर तीन सिजनको लागि प्रत्यक्ष प्रसारणसम्बन्धी सम्झौता गरेको हो । सम्झौता कतिमा भएको हो भन्ने खुलाइएको छैन ।

यसअघि भारतीय उपमहाद्वीपमा ला लिगा २०१४ देखि २०१८ सम्मका लागि ३२ मिलियन डलरमा सोनी पिक्चर नेटवर्कसले लिएको थियो । फेसबुकले २०१७ मा मेजर लिग बेसबल मार्फत खेल लाइभ गर्न सुरु गरेको थियो । यसपटक ला लिगाकै लाइभका लागि सम्झौता गरेर फेसबुकले ठूलो फड्को मारेको बताइएको छ ।

तपाईको प्रतिक्रिया