काठमाडौः बलिउडमा सलमान,शाहरुख र आमिर खानको जस्तो क्रेज अहिले कुनै पनि कलाकारको छैन । झण्डै तीन दशक बलिउडमा विताइसकेका तीन खानका फिल्मले बक्स अफिसमा धमका मच्चाउने गरेका छन् । बलिउडमा आफ्नो करियरको लामो पारी खेलिरहेका यी तीन कलाकारहरुका फिल्महरुले विभिन्न समयमा अनेक रेर्कडहरु कायम गरेका छन् । साथै यिनले पर्दामा निर्वाह गरेका चरित्र र तिनका रोचक संवादहरु अहिलेको पुस्तामासमेत उत्तिकै लोकप्रिय छन् ।

उमेरले ५० कटिसकेका यी तिनै खानहरुको प्रतिस्थापन कुन बलिउड एक्टरले गर्ने छ भनेर विभिन्न काल खण्डमा विभिन्न अनुमान भइरहन्छन् । सबै अनुमानहरुलाई समयले गलत साबित गरिदियो र अझै बलिउड फिल्म उद्योगमा यिनीहरुकै बोलवाला छ । एक समय विवेक ओवेरोय र शाहिद कपूरको बलिउडमा प्रवेश हुँदा यि दुई कलाकारले शाहरुख खानको स्टारडम खोस्न सक्ने अनुमान गरिएको थियो । विवेकको ‘साथिया’ र शाहिदको ‘ईश्क विश्क’ दुवै सुपरहिट भएका थिए ।

फिल्म रिलिज पश्चात फिल्ममा उनीहरुको रोमान्टिक रोलका कारण कतै शाहरुखको ‘किङ्ग अफ रोमान्स’ को टाईटल ओझेलमा पर्ने त हैन भन्ने कतिपय लाई लागेको थियो । तर त्यसो भएन, बरु शाहरुखका फिल्महरुले बक्स अफिसमा राम्रो गर्दै गए र उनले आफ्नो स्टारडमलाई अहिले सम्म कायम राखेका छन् ।

अहिले आएर भारतीय सिनेमा उद्योगमा यि तीन खानको प्रतिस्थापन गर्न र खानहरुको स्टारडमको विरासतलाई आफ्नो काँधमा राखी हिन्दी सिनेमालाई थप केही दशक डोर्‍याउन नयाँ पुस्ता तयार भैसकेको हल्ला चल्न थालेको छ । कतिपय फिल्म विश्लेषकहरु त बलिउडमा तीन खानको विकल्पका रुपमा निर्माता निर्देशकहरुले नयाँ पुस्ताका कलाकारहरु पाईसकेको घोषणा समेत गरेका छन् ।

खास गरी पछिल्लो समय वरुण धवन, रणवीर कपूर र रणवीर सिंहलाई बलिउडमा क्रमशः सलमान, आमिर र शाहरुखको विकल्पको रुपमा हेर्न थालिएको छ ।

१.वरुण धवन

वरुण धवनले बलिउडमा डेब्यु गरेदेखि अहिलेसम्म उनको कुनै पनि फिल्म फ्लप भएको छैन । उनको पछिल्लो रिलिज ‘अक्टोबर’ ले औसत व्यापार गरे पनि उनको अभिनयको सर्वत्र तारिफ भएको थियो ।

उनको हालसम्मको फिल्मोग्राफीलाई हेर्ने हो भने फिल्म चयन देखि उनको हाउभाउ, जिउडाल, नृत्य लगायत धेरै कुरा सलमानसँग मिल्छ भन्ने गरिन्छ ।

त्यसैले त एक अन्तरवार्तामा गोविन्दाले जीउडाल र हाउभाउ सलमानको जस्तो भएका वरुणको अभिनय मेरो नक्कल गर्दछन भनेर टिप्पणी समेत गरेका थिए । वरुणका आगामी फिल्महरुले पनि राम्रो व्यापार गर्ने अनुमान धेरैले गरेका छन् । उनका रिलिजको क्रममा रहेका फिल्महरु सुई धागा,कलंक र रणभूमि रहेका छन् ।

२. रणवीर कपूर

त्यस्तै रणवीर कपूरको ‘संजू’ हिट भऐसँगै भारतमा कतिपय विश्लेषकहरुले उनलाई आमिरको जस्तो पर्पmेक्सन भएको कलाकारका रुपमा हेर्न थालिएको बताएका छन् ।

साथै रणवीरले भविष्यमा बलिउडका आमिरको ठाँउ लिनेछन समेत भन्न थालिएको छ ।

हुन पनि रणवीरले आफ्नो अहिलेसम्मको छोटो करियरमा थुप्रै प्रयोगहरु गर्नसमेत भ्याएका छन् । चाहे त्यो ‘बर्फि’को चरित्र होस्, चाहे ‘बम्बे भेल्भेट’ या फेरि ‘संजु’ उनका हाल सम्मका फिल्मका चरित्रहरुमा विविधता र प्रयोग पाईन्छ ।

उनी हाल ‘बह्मास्त्र’, ‘शम्शेरा’ र प्यारका पंचनामा जस्ता फिल्मका निर्देशक लव रंजनको फिल्मको सुट्टिङ्गमा व्यस्त छन् ।

३. रणवीर सिंह

अर्कोतर्फ, आउने वर्षहरुमा बलिउडका बादशाहका नामले चर्चित शाहरुख खानको विकल्पका रुपमा रणवीर सिंहलाई हेर्न थालिएको छ ।रणवीर पनि बलिउडमा शाहरुख जस्तै निकै संघर्ष गरेर स्थापित भएका कलाकार हुन र उनमा शाहरुखको जस्तो जोश छ ।

शाहरुखले आफ्ना सुरुवाती दिनहरुमा थुप्रै फिल्महरुमा नकरात्मक भूमिका निर्वाह गरेका छन् र उनका नकरात्मक चरित्रहरु कै कारण ‘डर’ , ‘बाजिगर’ , ‘अंजाम’ जस्ता फिल्महरु हिट भएको मानिन्छ जस्को झल्को रणवीर सिंहको पछिल्लो रिलिज ‘पद्मावत’ ले समेत दिन्छ ।

यस फिल्ममा रणवीरले गज्जबको अभिनय गरेका छन् र यो फिल्म हिटसमेत भयो । रणवीर अहिले ‘गली ब्वाय’, ‘सिम्बा’ र करन जोहरले भर्खरै घोषणा गरेको फिल्म ‘तख्त’ मा व्यस्त छन् । उनको दीपिका पादुकोणसँग चाँडै नै विवाह समेत हुँदैछ ।

हिन्दी सिनेमाकी लेडि सुपरस्टार मानिने दीपिकालाई शाहरुखले नै आफ्नो फिल्म ‘ओम शान्ति ओम’ मार्फत बलिउडमा डेब्यू गराएका थिए ।

वरुण, रणवीर कपूर र रणवीर सिंह अहिले मूलधारका हिन्दी सिनेमाका जल्दाबल्दा अभिनेताहरु हुन । उनीहरुको फिल्मोग्राफी र दर्शक हरुबाट उनीहरुले पाइरहेको प्रतिक्रियाका कारण अहिले यि तीन कलाकारहरुलाई तीन खानको विकल्पका रुपमा हेर्न थालिएको हो ।

यद्यपि, शाहरुख, आमिर र सलमानको जस्तो मरीमेट्ने खालका फ्यान कमाउन यी तीन कलाकारले अझै धेरै यात्रा गर्नु पर्नेछ । एजेन्सी

तपाईको प्रतिक्रिया