काठमाडौँ ।दुई नम्बर प्रदेशलाई नेपालबाट अलग गराउने भन्दै देशविरोधी आन्दोलनमा सक्रिय रहेका सीके राउतले जनकपुरमा बृहत् सभा गरेरै देश विभाजनको घोषणा गर्ने तयारी गरिरहेको समाचार प्राप्त भएको छ । प्राप्त जानकारीअनुसार राउतले संविधान जारी भएको दिन (असोज ३ गते) लाई कालो दिवसका रूपमा मनाउँदै मधेस नेपालभन्दा भिन्न देश भएको घोषणा गर्न लागेका हुन् ।

आगामी असोज ३ गते जनकपुरमा संविधानविरुद्ध बृहत् विरोधसभा आयोजना गर्ने र सोही सभाबाट राउतले स्वतन्त्र मधेस घोषणा गर्ने तयारी भएको बताइएको छ । यसप्रकारको सभा प्रदेश सरकारको स्वीकृति लिएर नै गरिने पनि सम्बद्ध सूत्रले जनाएको छ । राउतको यो सभापछि दुई नम्बर प्रदेशमा विखण्डनकारी गतिविधि तेज गतिमा बढ्ने सम्भावना छ ।

प्रदेश सरकारको सहमतिमै गर्न लागिएको यसप्रकारको देशद्रोही कार्यक्रम रोक्न केन्द्र सरकारको प्रयास कसरी हुने हो सो बुझ्न सकिएको छैन । यसप्रकारको सभा रोक्न सरकार असफल भएमा देश विभाजनको निम्ति हुँदै आएको प्रयासमा अर्को ढोका खुल्ने धारणा विश्लेषकहरूको छ ।-घटना र विचारबाट

तपाईको प्रतिक्रिया