अमेरिकाको पूर्वी तटीय क्षेत्र नजिकै पुग्दै गरेको समुद्री आँधी फ्लोरेन्सका कारण धेरै मानिसको ज्यान जाने सक्ने चेतावनी दिइएको छ ।

आँधीबाटा जोगिनका लागि जोखिमयुक्त क्षेत्रका लाखौँ मानिसहरु केही दिनदेखि सुरक्षित स्थानमा जाने क्रम चलिरहेको छ । अब आँधी तटीय क्षेत्रमा ठोक्किने बेला आइसकेकाले अहिलेसम्म सुरक्षित स्थानमा नगएकाहरुको ज्यान जोखिममा रहेको सरकारी अधिकारीले चेतावनी दिएका हुन् ।

संघीय आपतकालीन व्यवस्थान संस्था, फेमाले आँधीका कारण धेरै क्षेत्रमा विनाशकारी बाढी आउने सक्ने बताएको छ । नर्थ क्यारोलिना, साउथ क्यारोलिना र भर्जिनियासहितका १७ लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ भने अमेरिकाका ५ स्थानमा संकटकालको घोषणा गरिएको छ ।

नर्थ क्यारोलिनाको तटीय क्षेत्रमा तीव्र गतिको हावा चल्ने तथा ठूलो पानी पर्ने क्रम सुरु भइसकेको छ । यसले गर्दा बाढी आउन पनि थालेको छ ।

समाचार संस्था रोयटर्सका अनुसार नर्थ क्यारोलिनाका ११ हजार भन्दा बढी घरमा बिद्युत आपूर्ति बन्द भइसकेको छ ।

तपाईको प्रतिक्रिया