राजविराज – सप्तरीको कञ्चनरुप र हनुमाननगर कङ्कालनी नगरपालिकामा स्वाइन फ्लु र हङकङ फ्लुका भाइरस फेला परेको छ ।ती नगरपालिकामा रुघाखोकी र ज्वरोका बिरामी देखिन थालिएपछि कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणमा एक जनामा स्वाइन फ्लु र १० जनामा हङकङ फ्लु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरञ्जनप्रसाद यादवले बताउनुभयो ।कञ्चनरुप नगरपालिका–७ का हरिलाल साहमा स्वाइन फ्लुको सङ्क्रमण देखिएको बताउँदै उहाँले भारतको झारखण्डस्थित बाबाधाम गएर आएका कञ्चनरुप नगरपालिका–४ कविलाशाकी बलसाल सरदारको मृत्यु भएको र वडा नं ७ का साहमा स्वाइन फ्लुको सङ्क्रमण देखिएपछि उतैबाट रोगको सङ्क्रमण शुरु भएको हुन सक्ने आशङ्का गरिएको जानकारी दिनुभयो ।कञ्चनरुप र हनुमाननगर कङ्कालनी नगरपालिकामा बिरामी बढ्न थालेपछि भदौ २४ गतेदेखि सप्तरीको कञ्चनपुर स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको हेल्थ क्याम्पमा जम्मा एक हजार १२२ जनाको स्वास्थ्य परीक्षण गराइएका छन् । जसमध्ये २४ जनाको रगत र ¥याल परीक्षणका लागि काठमाडाँैस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको प्रमुख यादवले बताउनुभयो ।

सोही परीक्षणपश्चात् कञ्चनरुप नगरपालिका–७ बलुवाका ६० वर्षीय हरिलाल साहलाई स्वाइन फ्लुको सङ्क्रमण भएको पाइएको र कञ्चनरुपका अन्य चार जना तथा हनुमाननगर कङ्कालनी नगरपालिकाका ६ जनामा हङकङ फ्लु फेला परेको यादवले जानकारी दिनुभयो ।जिल्ला दैवी प्रकोप उद्धार समितिको बिहीबार सम्पन्न आपत्कालीन बैठकले प्रभावित क्षेत्रमा स्वास्थ्य टोली खटाउने र उपचारको व्यवस्था मिलाउने तथा भारतीय नाकामा सहायता कक्ष राख्ने विषयमा निर्णय भएको प्रजिअ सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । साथै प्रभावित क्षेत्रमा सतर्क रहन सर्वसाधारणलाई आग्रह गर्दै स्वाइन फ्लु तथा हङकङ फ्लु फोहोर तथा भीडभाडका कारण चाँडो फैलने भएकाले भीडभाडमा सहभागी नहुन, कसैसँग हात नमिलाउन, सरसफाइमा ध्यान दिन र बिरामीलाई सुरक्षित स्थानमा राख्न प्रजिअ पौडेलले आग्रह गर्नुभयो ।यसअघि ज्वरो र रुघाखोकीबाट ग्रसित कञ्चनरूप नगरपालिका–७ का १४ वर्षीय दिवस बस्नेत, वडा नं ३ का १४ वर्षीय किशोर राम र वडा नं ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएको थियो ।यस्तै ज्वरो तथा रुघाखोकीकै कारण कञ्चनरुप नगरपालिका–४ कविलासाकी ६० वर्षीया वलसाल सरदारको पनि विराटनगरस्थित ग्रिनक्रस हस्पिटममा उपचारकै क्रममा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया