कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार-हत्या अनुसन्धानको नेतृत्व डिआइजी धिरु बस्नेतलाई दिइएको छ। प्रहरी प्रधान कार्यालयले यसअघि घटनाको अनुसन्धान गर्न भदौ १४ गते एसएसपी उत्तम सुवेदीको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको थियो।

घटनाको प्रारम्भिक अनुसन्धान गर्ने थप प्रहरीहरू निलम्बन भएको र मुख्य अभियुक्त भनिएका दिलिपसिंह बिष्टको डिएनए रिपोर्ट आइसकेपछि गम्भीरतापूर्वक अनुसन्धान गर्न डिआइजीलाई समितिको नेतृत्व दिइएको प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीले जानकारी दिए। बस्नेतसहित समितिमा ४ जना थपिएका छन्। अब समिति ९ सदस्यीय भएको छ।

‘घटनाबारे थप गम्भीरता र गहनताका साथ अनुसन्धान गर्न पुरानो समितिलाई अपग्रेड गरिएको हो,’ प्रवक्ता क्षेत्रीले भने, ‘यसले अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकारीको भूमिकाको अध्ययन गर्नेछ।’

शनिबार गृहमन्त्रालयले घटनाको अनुसन्धान गर्न साउन १४ गते गएको सिआइबीको टोलीका तीनसहित पाँच प्रहरी अधिकारीलाई निलम्बन गरेको थियो।

सरकारले अनुसन्धान विवादस्पद बन्दै गएपछि भदौ ७ मा छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो। समितिले शनिबार गृहमन्त्री रामबहादुर थापालाई प्रारम्भिक अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

सोही प्रतिवेदनका आधारमा गृहले निर्मला बलात्कार-हत्याको अनुसन्धान जिम्मेवारपूर्वक गर्न नसकेका डिएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, इन्स्पेक्टर, जगदीश भट्ट, एकेन्द्र खड्का र सई रामसिंह धामीलाई शनिबार नै निलम्बन गरेको हो।

यसअघि कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट निलम्बनमा परिसकेका छन्। घटनाका बारेमा अनुसन्धान गर्न उनको डिएनए संकलन गरी परीक्षणका लागि पठाइएको छ।

तपाईको प्रतिक्रिया