कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानविन गर्न अर्को ‘शक्तिशाली’ समिति गठन गरिएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एजआईजी) बढुवामा सिफारिस भएका डीआइजी धिरु बस्नेतको संयोजकत्वमा अर्को समिति गठन गरिएको हो । गृह मन्त्रालयले निर्मला हत्या प्रकरणको अनुसन्धान गर्न कञ्चनपुर गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जिसीसहित ५ प्रहरी अधिकारीलाई निलम्बन गरे पनि आन्दोलन भने रोकिएको छैन ।

५ प्रहरी अधिकारीलाई निलम्बन गरेपछि आन्दोलन मत्थर हुने विश्वास लिइएको थियो । तर पनि प्रहरी प्रति विश्वास पैदा नभएका कारण महेन्द्रनगरमा चालु आन्दोलन भने रोकिएको छैन । घटनाको अनुसन्धानमा लापरवाही देखिएपछि उनीहरुलाई गृहमन्त्रालयले निलम्बन गरेको हो । कञ्चनपुरमा संलग्न दोषीलाई पक्राउ गरेर घटनाबारे यथार्थ विवरण सार्वजनिक गर्न माग गर्दै प्रदर्शन जारी राखिएको हो ।

सोही क्रममा शनिबारबाट देशव्यापी रुपमा प्रदर्शन सुरु भएको छ । देशब्यापी आन्दोलन सुरु भएपछि शनिवार सांझ साँझ गृहमन्त्रालयले डीएसपी जिसीसहित ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक जगदिश भट्ट, एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको हो ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई गृहमन्त्रालयले निलम्बन गरिसकेको छ । तत्कालिन प्रहरी प्रमुख विष्टले घटनाका मुख्य अपराधिलाई लुकाउने प्रयास गरेको आरोप समेत स्थानियले लगाएका छन् ।

उता, गृहले निलम्बन गरेपछि प्रहरी प्रधान कार्यालयमा निलम्बित अधिकारीहरुलाई बोलाइएको छ । प्रहरी मुख्यालयको उजुरी छानबिन शाखाले पनि उनीहरुमाथि अनुसन्धान गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया