महेन्द्रनगर, धनुषा – नेपालको प्रदेश २ को राजधानी जनकपुर र भारत विहार प्रदेशको राजधानी पटनासम्म चल्ने बहुप्रतीक्षित बस सेवा आजदेखि विधिवत् शुरु भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज जनकपुरबाट पटनाका लागि बस सेवाको उद्घाटन गर्नुभएको थियो ।आज दिउँसो १२ बजे मुख्यमन्त्री राउतले हरियो झण्डा देखाएर जनकपुरबाट पटनाका लागि प्रस्थान गरेको बसलाई विदाइ गर्नुभयो । जनकपुर–पटना र काठमाडौँ–बोधगयाका लागि दैनिक चारवटा बस सञ्चालन गरिने बताइएको छ ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुर र विहार राज्यको राजधानी पटना जोड्ने पटना–जनकपुरधाम बस सेवा गत मङ्गलबारदेखि सञ्चालनमा आएको हो । विहारका मुख्यमन्त्री नितिश कुमारले पटनामा हरियो झण्डा देखाएर पटना–जनकपुर बस सेवाको शुभारम्भ गर्नुभएको थियो । गत मङ्गलबारदेखि नै विहारको बोधगया र काठमाडौँ बस सेवा पनि शुरू भएको छ ।भारत–नेपाल बससेवा नाम दिइएको दुई मुलुकबीच भारततर्फबाट विहार सरकारको विहार राज्य पथ परिवहन विभाग र नेपालको स्वयम्भू मञ्जुश्री प्रालिले बस सेवा सञ्चालन गरेको जनकपुर अञ्चल बस व्यवसायी सङ्घका अध्यक्ष मनोज चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीका अनुसार दुईदेशीय बस सेवा व्यवस्थापनका लागि बस रोक्ने स्थानमा सुविधा सम्पन्न कार्यालय सञ्चालन गरिएको छ ।

जनकपुरबाट छुट्ने बस भिट्ठामोड, सीतामढी हुँदै पटना पुग्नेछ भने काठमाडौँबाट छुट्ने बस वीरगञ्ज, रक्सौल, मोतिहारी हुँदै पटना पुग्नेछ । जनकपुर–पटनाको करीब २२५ किलोमिटर दूरीको बसको भाडा भारु २७५, बोधगया–काठमाडौँको भाडा एक हजार २५० र काठमाडौँ–पटनाको भाडा एक हजार १५ रूपैयाँ भारू निर्धारण गरिएको छ ।एसी सुविधायुक्त यस जनकपुर पटना बस सेवा प्रत्येक दिन जनकपुरबाट बसपार्कबाट बिहान १० बजे रात्रि सेवा ८ बजे हुने बताइएको छ । आज पहिलो बस सेवामा ३० जना यात्रुसहित गाडी प्रस्थान गरेको छ । तीस जना यात्रुमध्ये २६ जना पटनाका लागि र चार जना मुजफ्फपुरको लागि हिँडेको बताइएको छ ।

सन् २०१४ मा नेपाल–भारतबीच सम्पन्न पारवहन सम्झौताअनुसार दुवै देशका धार्मिक, पर्यटकीय शहरबीच बस सेवा सञ्चालन गर्ने सहमति भएको थियो । सहमतिअनुसार काठमाडौँ–दिल्ली तथा काठमाडौँ–वीरगञ्ज–बोधगया बस सेवा सञ्चालन भए पनि जनकपुरधाम–पटना बस सेवा भने सञ्चालन हुन सकेको थिएन ।वर्षेनी हजारौँ नेपाली स्वास्थ्योपचार, अध्ययन, व्यवसाय तथा धार्मिक–सांस्कृतिक पर्यटनका लागि भारतका विभिन्न शहर जान्छन् । विहार प्रदेशको राजधानी पटना रेल, बस तथा हवाईमार्गबाट समेत जोडिएकाले जनकपुर–पटनाको बस सेवा यात्रुका लागि लाभदायक हुने विश्वास स्थानीय बासिन्दाको छ ।

पहिले पटना पुग्न जनकपुरबाट नेपाली नाका भिट्ठामोडसम्म तथा भिट्ठामोडबाट भारतको सीतामढी–मुजफ्फरपुर हुँदै जानुपथ्र्यो । पटकपटक बस, रिक्सा, टेम्पो आदि परिवर्तन गर्न यात्रीलाई असुविधा हुने गरेको थियो । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सास्तीसमेत बेहोर्नु परेको थियो । सीधा बस सेवा सञ्चालन हुँदा जनकपुरबाट सरसामानसहित सिधा पटना पुग्न सकिने स्थानीयको भनाइ छ ।“सिधा बस सेवा सञ्चालन हुँदा सस्तो पर्नुका साथै समय बचत हुन्छ । सुरक्षित पनि हुन्छ”, जनकपुर निवासी सतीशलाल कर्णले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख १८ गते जानकी मन्दिर प्राङ्गणमा हरियो झण्डा देखाएर प्रारम्भ गरेको जनकपुरधाम–अयोध्या बस सेवा भने अझै पनि नियमित सञ्चालन हुन सकेको छैन । जनकपुरधाम–अयोध्या बस सेवा पनि नियमित सञ्चालन हुनुपर्ने स्थानीय बासिन्दाले बताएका छन् ।

तपाईको प्रतिक्रिया