काठमाडौं । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । उनीहरु मलेसियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए । उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिए ।

सुनगाई बुलोच अस्पतालमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको उनले बताए । सोही अस्पतालमा मदिरा सेवनबाट गम्भीर बिरामी परेका नौ नेपालीको उपचार भइरहेको छ । त्यस्तै काजङ अस्पतालमा पनि उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । उक्त अस्पतालमा गम्भीर बिरामी पाँचको उपचार भइरहेको कार्यवाहक राजदूत खरेलले जानकारी दिए । व्याङटिङ, अमपाङ र क्लाङ अस्पतालमा एक–एक जनाको उपचार भइरहेको छ ।

मलेसियाको स्वास्थ्य मनत्रालयले जनाएअनुसार विषाक्त मदिरा सेवनका कारण ५१ जना बिरामी परेका थिए । बिरामी परेका ५१ जनामध्ये ४८ जना विदेशी नागरिक भएको मलेसिया सरकारले बताएको छ । जसमा नेपाली, म्यानमार, बङ्गलादेशी र इण्डोनेसियन रहेका छन् । बिरामी परेकामध्ये जसमध्ये १९ जनाको मृत्यु भइसकेको छ भने १४ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । बिरामीमध्ये धेरै नेपाली नागरिक रहेको बताइएको छ ।

क्वालालम्पुरका पुलिस कमिस्नर माजलान मानसोरले ६ नेपालीसहित १९ जनाको मृत्यु भइसकेको र १४ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको पुष्टि गरेका छन् । अन्य बिरामीमध्ये केहीलाई डिस्चार्ज गरिएको र केहीलाई अस्पतालमै अनुगमनमा राखी उपचार भइरहेको छ । मृत्यु हुनेमध्ये ३ जना नेपालीको सनाखत भएको छ ।

मृत्यु हुनेमा वर्ष २६ का विशाल बुढाथोकी र वर्ष २९ का सञ्जय उराउ तथा उमेर नखुलेका आइतसिंह गोले तामाङको सनाखत भएको छ । अन्य ३ नेपालीको नाम भने सार्वजनिक भएको छैन ।

मलेसियामा विषाक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा घाइते भएको खबर सार्वजनिक भएलगत्तै त्यहाँस्थित नेपाली दूतावासले दुई टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको कावा राजदूत खरेलले जानकारी दिए । कावा राजदूत खरेलले मृत्यु भएका तथा गम्भीर अवस्थामा उपचाररत नेपालीको अवस्था बुझ्न अस्पताल पुगेका थिए ।

तपाईको प्रतिक्रिया