उत्तर र दक्षिण कोरियाले सन् २०३२ को गृष्मकालीन ओलम्पिक आयोजना गर्न संयुक्त प्रस्ताव गर्ने सहमति गरेका छन् । तीन दिने भ्रमणका क्रममा मंगलबार प्योङयाङ पुगेका दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको वार्तापछि दुई कोरियाले यो सहमति गरेका हुन् ।

बुधबार प्योङयाङमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति मुनले कोरियाली प्रायद्वीपमा अब शान्तिका दिन सुरू भएको बताए । उत्तर कोरियाली नेता किमले कोरियाली प्रायद्वीपलाई आणविक हतियार र त्रासरहित बनाउन आफूहरूबीच सहमति भएको बताए ।

अमेरिकाले त्यही अनुसारको ‘डिल’ गरे योङ्बोस्थित आणविक केन्द्र पनि बन्द गर्न किम सहमत भएका छन् । राष्ट्रपति मुनले उत्तर कोरिया विदेशी विज्ञ परीवेक्षकको सहभागितामा मुख्य आणविक केन्द्र तोङछांग्री मिसाइल इन्जिन टेस्ट साइट सधैँका लागि बन्द गर्न सहमत भएको बताए ।

उत्तर कोरियाली नेता किमले आफू निकट भविष्यमै दक्षिणको राजधानी सउल जाने बताएका छन् । उनी सउल आउने पहिलो उत्तर कोरियाली शासक हुनेछन् ।

दुई कोरियाबीच प्रायद्वीपमा हुने द्वन्द्वको त्रासलाई हटाउन संयुक्त सैन्य संरचना बनाउने पनि सहमति भएको छ । पूर्व र पश्चिम दुबैतिरबाट एक वर्षभित्र दुई देशबीच रेल चलाउने सहमति पनि उनीहरूले गरेका छन् ।

गत अप्रिलमा दक्षिणको सीमावर्ती गाउँमा दुई नेताबीच पहिलो शिखर वार्ता भएको थियो । त्यसपछि जुन १२ मा किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सिंगापुरमा बैठक भएको थियो । एजेन्सी

तपाईको प्रतिक्रिया