प्रहरी प्रशासनको कडा सुरक्षाका बावजुद पनि स्वतन्त्र मधेस आन्दोलनका अगुवा सिके राउतले २० मिनट सभालाई सम्बोधन गरेर फेरी भुमिगत भएका छन् । संविधान दिवसको विरोधमा आयोजना गरिएको जुलुसपछि आयोजित कोण सभालाई राउतले २० मिनट सम्बोधन गरेका हुन् । उनले प्रहरी प्रशासनको नाकै मुनी स्वतन्त्र मधेसको नारा दिंदै भाषण समेत गरेका छन् ।

प्रहरीले सिके राउतको पूर्व निर्धारित कार्यक्रमलाई असफल बनाउन २ सय भन्दा बढी कार्यकर्ता समेत नियन्त्रणमा लिएको थियो । चोक चोकमा प्रहरी तैनाथ थिए ।कडा सुरक्षाका बाबजूद मधेस गठबन्धनका सयाँ कार्यकर्ता जनकपुरमा प्रदर्शन गरे । प्रहरीको विशेष खोजी सूचीमा रहेका गठबन्धका संयोजक डा सिके राउतले रामानन्दचोकमा प्रहरी प्रशासनकै अगाडि कोणसभालाई सम्बोधन समेत गरे । उनी झण्डै २० मिनेट सम्बोधन गरेर पुनः भूमिगत भएका छन् ।

असोज ३ को संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन भन्दै डा।सिके राउतले जनकपुरमा ‘चलु जनकपुर, भरु जनकपुर’अभियान सुरु गरेका थिए । जनकपुरको बाह्रविघा मैदानमा डा.राउतले विरोध सभा गर्ने पूर्व निर्धारित कार्यक्रम भए पनि प्रहरीको अवरोधका कारण राउतका झण्डै एक हजारको संख्यामा एकैपटक आएका नेता कार्यकर्ताहरु रामानन्दचोकबाट विरोध जुलुस सुरु गरेका थिए ।

रामानन्दचोकबाट निस्केको गठबन्धनको जुलुस जानकीचोक, जनकचोक, रामचोक, मुरलीचोक, भ्रमरपुराचोकसहितको ठाउँमा प्रदर्शन गर्दै पुनः रामानन्दचोकमा कोणसभामा परिणत भएको थियो । सोही कोण सभालाई राउतले सम्बोधन गरेका हुन् । सम्बोधनको क्रममा उनले स्वतन्त्र मधेसको विकल्प नभएको बताए ।

तपाईको प्रतिक्रिया