इनरुवा, -सुनसरीको हरिनगर गाउँपालिका २ र ६ मा आज भएको गोली प्रहारबाट सोही गाउँपालिका–२ का ५६ वर्षीय मौलाना खुर्सीद अन्सारीको मृत्यु भएकोछ । भारतीय बजारबाट नम्बर प्लेट नभएको मोटरसाइकलमा दुई जना सवार रहेका अज्ञात समूहले गोली चलाएको सुनसरी प्रहरीले जनाएको छ । बजार घुमफिर गर्नका लागि निस्केका बेला अन्सारीमाथि अज्ञात समूहले गोली प्रहार गर्दा उहाँको टाउको र छातीमा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।

त्यसैगरी हरिनगर गाउँपालिका–६ घुस्की प्रहरीचौकीमा कार्यरत प्रहरी हवल्दार सिवलाल पौडेलमाथिसमेत गोली प्रहार भएको स्थानीयले बताएका छन् । भुटाहा बजार क्षेत्रमा गोली प्रहार गरेर भागी रहेका बेला प्रहरीले बाटो छेक्न खोज्दा प्रहरीमाथि समेत गोली प्रहार गरेको हो । पौडेललाई खुट्टा र कोखमा गोली लागेको बताइएको छ । घाइते भएका प्रहरी हवल्दारलाई उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ । यता सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले गोली प्रहार भएको र घटनाको विषयमा अनुसन्धान भइरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया