बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै काठमाडौंमा थाल ठटाएर सरकारविरुद्ध प्रर्दशन गरिएको छ । युवा नर्स संजालले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै सोमबार दिउँसो काठमाडौंको माईतीघर मण्डलामा सरकारविरुद्ध थाल र चम्चा ठटाएर प्रर्दशन गरेको हो ।

प्रर्दशनकारीहरुले निर्मला हत्या प्रकरणका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै नाराबाजी समेत गरेका थिए ।

उनीहरुले निर्मलाको हत्यारालाई पत्ता लगाउन बम दिदीबहिनीलाई अनुसन्धानमा दायरामा ल्याउन ढिलाई नगर्न पनि सरकारलाई दबाब दिँदै आएका छन् ।। सरकारद्वारा गठित उच्चस्तरीय छानवीन समितिको प्रतिवेदनले पनि एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीलाई अनुसन्धान गर्न सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाई सकेको छ। स्मरण रहोस् बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको विरोधमा काठमाडौंमा दैनिक प्रर्दशन हुँदै आएका छन ।

तपाईको प्रतिक्रिया