काठमाडौँ, २ कात्तिक – राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गर्नुभयो ।

राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित हेमचन्द्र ढकालबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गर्नुभएको हो ।

स्वस्तिवाचनसहित मूल पुरोहित अर्याल र अन्य पुरोहितहरुले आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी स्थापना गरिएको पूर्ण कलशको जलले राष्ट्रपतिमा अभिषेक गर्नुभएको थियो ।

शास्त्रोक्त विधिपूर्वक प्रतिपदाका दिनदेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाअर्चना तथा सप्तशती पाठ गरिएको हनुमानढोका दशैघरबाट पूर्णकलशको जल, जमरा, तिलक र रक्षासूत्र ल्याइएको थियो ।

राष्ट्रपति भण्डारीले मूल पुरोहित, राष्ट्रपति कार्यालयका पुरोहित र अन्य ब्राह्मणलाई टीका, जमरा र दक्षिणा प्रदान गर्नुभयो ।

त्यसअघि राष्ट्रपतिले दीप, कलश र गणेशको पूजा गर्नुभएको थियो । राष्ट्रपति भवनको प्रेक्षालयमा टीका मङ्गलटीकाको कार्यक्रम भइरहँदा नेपाली सेनाको एक टोलीले मन्द तर मधुर ध्वनिमा मङ्गलधुन बजाइएको थियो ।

राष्ट्रपतिले आफ्ना पूजनीय माता मिथिला पाण्डेबाट टीका–जमरा र दक्षिणा ग्रहण गर्नुभयो । साथै उहाँले काका डेकेन्द्र पाण्डेबाट पनि नवदुर्गा भवानीको प्रसादस्वरुप टीका–जमरा ग्रहण गर्नुभयो ।

राष्ट्रपति भण्डारीले छोरीज्वाँइ उषाकिरण र उमेश थापा तथा निशाकुसुम र अभिषेक यादवलाई टीका–जमरा लगाइदिनुभयो । उहाँले परिवारका अन्य सदस्यका साथै राष्ट्रपति कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र समाचार सङ्कलन गर्न पुगेका सञ्चारकर्मीलाई पनि टीका जमरा लगाइदिनुभयो ।

उता, पूर्वराजा ज्ञानेन्द्र शाहले पनि विभिन्न दलका नेता, शुभचिन्तक तथा सर्वसाधारणलाई टीका लगाईदिनु भएकाे छ । निर्मल निवासमा टीका ग्रहण गर्नेहरुकाे लामै लाइन लागेकाे देखियाे ।

दिउँसो सवा तीन बजेदेखि खुला गरिएको निर्मल निवास परिसर र बाहिरको सडक पेटी टीका थाप्नेहरुको भिडले भरिएको थियो। पूर्वराजाले गत वर्ष सर्वसाधारणलाई टीका लगाइदिनुभएकाे थिएन । यस वर्ष भने राजतन्त्रप्रति झुकाव राख्ने राजनैतिक व्यक्तित्वदेखि सर्वसाधारणसम्म पूर्वराजा-रानीकाे हातबाट टीका तथा जमरा ग्रहण गर्न निर्मल निवास पुगेका थिए ।

पूर्वराजा शाहले यस वर्ष विजयादशमीको दिन टीका थाप्न निर्मल निवास पुगेका सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि टीका जमरा लगाइदिनुभएकाे हाे । राप्रपाका अध्यक्ष कमल थापाले पनि सधैँझैँ यस सालकाे दशैँमा पनि पूर्वराजा-रानीबाट टीका ग्रहण गर्नुभएकाे छ ।

अपराह्न तीन बजेदेखि निर्मल निवासमा पूर्वराजा शाह र रानी कोमलले सर्वसाधारणलाई टीका लगाईदिनु भएकाे थियाे । टिका लगाउन निर्मल निवासमा सर्वसाधारणको घुइँचो लागेकाे थियाे । गणतन्त्रको १० औँ वर्षको विजयादशमीमा पूर्व राजा ज्ञानेन्द्र र रानी कोमलको हातबाट टीका लगाउनेको भिड अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको प्रत्यक्षदर्शीहरुले बताए।

तपाईको प्रतिक्रिया