धनकुटा — उनीहरूलाई चाडपर्वको रौनकले छोएको छैन  । दसैंको माहोल सबैतिर छाइरहँदा वृद्धाश्रममा बसेर उनीहरूले घर सम्झिरहेका छन्  । ५ छोरा र ४ छोरीका बाबुआमा यतिबेला वृद्धाश्रमको एक कोठामा सीमित छन् ।

घरमा मनाएको दसैं अब उनीहरूको सम्झनामा मात्र छ । उनीहरूले यो दसैं वृद्धाश्रममा मनाउँदै छन् । तमोर नदी किनार मूलघाटमा अवस्थित विश्रान्ति वृद्धाश्रममा रहेका ७९ वर्षीय निधिराज सुवेदी र ७३ वर्षीया पत्नी सुकला आफ्ना सन्तान सम्झँदै बसेका छन् ।

वृद्धाश्रम आउनुअघि राम्रै हैसियतमा रहेका उनीहरू सन्तानबाट टाढिएर बस्नुपर्दा चाडबाडमा पीर पर्छ । चार वर्षदेखि वृद्धाश्रममा बस्दै आएका यी दम्पतीले अरू बेलाभन्दा चाडपर्वको समयमा आफन्तको यादले तडपनुपरेको बताए । ‘खै चाडपर्व भित्रिसक्यो भन्छन्,’ निधिराजले भने, ‘हाम्रा लागि वृद्धाश्रमको यो बासमा केही उमंग छैन ।’

साबिकको कुरुलेतेनुपा ३ बाट मोरङको टाँडी बसाइँ सरेर गएका उनीहरूले साथमा रहेका छोराले उपेक्षा गरेपछि वृद्धाश्रमको बाटो रोज्नुपरेको सुनाए । टाँडीमा मनग्गे जग्गा–जमिन र राम्रै हैसियतमा रहेका उनीहरू पछिल्लो समय सम्पत्तिको मोह त्यागेर शान्तिको खोजीमा लगेको बताउँछन् ।

२ छोरा काठमाडौंमा घरजम गरेर बसेको वर्षौं भयो । तर यी दम्पती राजधानीमा रहेका छोराबारे धेरै जानकार छैनन् । ‘धेरै भयो, भेटघाट नभएको’ सुकलाले आँसु झार्दै भनिन्, ‘सहरमा भएका सन्तान सबै व्यस्त हुने भएकाले होला बाबुआमालाई सम्झन भ्याउँदैनन् ।’

साइँला छोरा मानसिक रूपमा विक्षिप्त छन् भने एक छोरी अपांग छिन् । यीबाहेक अन्य ७ सन्तानको अवस्था भने सबल रहेको उनले बताइन् । काइँला छोरा शिक्षक र दुई छोरा टाँडीमा नै कृषि व्यवसायमा संलग्न रहेको निधिराजले जनाए । राजधानीमा रहेका दुईमध्ये एक छोरा कम्प्युटरमा काम गर्छन् भन्ने मात्र थाहा छ उनलाई । अर्का छोराले ४ आना जग्गा लिएर काठमाडौंमा नै घर बनाइसकेका छन् । ठूली छोरी पनि २५ वर्ष काठमाडौं बसेर पछिल्लो समय मोरङ फर्किएकी छन् । उनमा अपांगता रहेको आमा सुकलाले बताइन् ।

साथमा रहेका छोराले आफूलाई उपेक्षा गरेकाले चित्त दुखेर वृद्धाश्रमको बाटो रोजेको उनीहरू बताउँछन् । ‘पहिले त भरसक सम्झाइबुझाइ गरेर साथै बसौं भन्ने लाग्या थ्यो,’ उनीहरूले भने, ‘नसकेपछि लु बसिराख भनेर वृद्धाश्रममा आइपुग्यौं ।’

मनमा पीर परेपछि विकल्प खोज्नुपरेको दम्पतीको भनाइ छ । ‘पहिले कस्तो र’छ भनेर हेर्न आएको थिएँ,’ निधिराजले भने, ‘सबै आफैं जस्ता उमेरका धेरै जना देखेपछि बसौं बसौं भन्ने लागेर बसियो ।’ निधिराज विश्रान्ति मन्दिरमा पुजारीको भूमिका समेत निर्वाह गर्दै छन् । पहिले टाँडीमा १ बिघा ५ कठ्ठा जग्गालाई राम्रैसँग जोतखन गर्दै कृषि व्यवसाय गर्दै आएका थिए । तर पछिल्लो समय धेरै जग्गा बाँझिएको थाहा पाएर दु:ख लागेको उनले बताए ।

कहिलेकाहीं समय मिलाएर घर जाने गरे पनि वृद्धाश्रममा फर्केर आइहाल्न मन लाग्न थालेको उनीहरूले सुनाए । त्यहाँ रहेका ४५ मध्ये अधिकांशले वृद्धाश्रममा नै एकापसमा दसैंको खुसियाली साटासाट गर्छन् । अधिकांशको घरभरि सन्तान भएर पनि परिवारबाट टाढिएको विश्रान्तिकी व्यवस्थापक कमला दाहालको भनाइ छ ।

(यो समाचार कान्तिपुर दैनिकमा अशोज २९ गते रमेशचन्द्र अधिकारीले लेखेको समाचार प्रकासित भैसकेको छ जुन समाचारलाई हामीले साभार गरेका हौ )

तपाईको प्रतिक्रिया