वामपन्थी नेता, मानवअधिकारवादी पूर्वमन्त्री पद्यमरत्न तुलाधरको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपालको कम्युनिस्ट आन्दोलनमा नेता तुलाधरले खेलेको भुमिकाको स्मरण गर्दै नेपालले एक अर्को क्षति व्यहोरेको बताउनुभयो ।

पूर्वमन्त्री तुलाधरको ८९ वर्षको उमेरमा आइतबार नर्भिक अस्पतालमा निधन भएको हो । उहाँ केही वर्षदेखि अस्वस्थ हुनुहुन्थ्यो । तुलाधार नेपाली राजनैतिक सामाजिक आन्दोलनका आगुवा मानिन्थे । उहाँ २०६२ र ६३ को शान्ति प्रक्रियाका एकजना सहजकर्ता समेत हुनुहुन्थ्यो ।

मानवअधिकार, नेपाल भाषा, पत्रकारिता, साहित्य तथा नाटक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका वामपन्थी नेता तुलाधरलाई नेवारी परम्परानुसार ७७ वर्ष सात महीना सात दिन ७ घडी तथा ७ पलाको साइतमा भीमरथारोहण समेत गरेर नागरिक अभिनन्दन गरिएको थियो ।

२०४६ सालमा समेत काँग्रेस र कम्युनिष्ट दुबैशक्ति एक ठाउँमा आएपछि मात्र बहुदलीय व्यवस्था पुनःस्थापना गर्न सकिने मान्यता राख्ने तुलाधरले सर्वोच्च कमाण्डर गणेशमान सिंह र त्यसबेलाको वाममोर्चालाई एक ठाउँमा ल्याउन पहल गर्नुभएको थियो । उहाँकै पहलमा मावमोर्चा र कंग्रेंस एक ठाउँमा उभिँदा जनआन्दोलन सफल बनेको थियो ।

तुलाधरले नेपाल भाषा मंका खलःमा नेतृत्व समेत सम्ल्नुभएको थियो । तुलाधरले ‘नेपाल भाषा’ पत्रिकाका सम्पादक भई लामो समयसम्म पत्रकारिता समेत गर्नुभएको थियो ।

तुलाधरले नेपाल संवत्लाई राष्ट्रिय संवत तथा शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणाको मान्यता दिलाउन पनि लामो समय सङ्घर्ष गर्नुभएको थियो । तुलाधरका नेपाल भाषामा थुप्रै नाटक ९ख्यालः०, निबन्ध आदि गरी १६ पुस्तक प्रकाशित छन् ।

नेपालमा बहुदलीय व्यवस्थाको पुनःस्थापना गर्ने अभियानमा आफनो जीवनको लामो समय खर्चिएका तुलाधर विसं २०४२ मा नेकपा ९माले०को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उठाइएपछि चर्चाको शिखरमा पुग्नुभएको थियो । नेकपा एमालेको समर्थनमा विसं २०४८ र विस २०५२ मा काठमाडौँबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित तुलाधर विसं २०५३ मा श्रम तथा स्वास्थ्यमन्त्री समेत बन्नुभएको थियो ।

राष्ट्रिय पञ्चायतको सदस्यका लागि त्यसबेला जनपक्षीय उम्मेदवार हुँदा पहिलो सूर्य चिह्न लिएका तुलाधरकै सूर्य चिह्न तत्कालीन नेकपा एमाले र हाल नेपाल कम्युनिष्ट पार्टी नेकपा ले लिएको छ ।

तपाईको प्रतिक्रिया