काठमाडौँ । केही दिन अघि परीक्षण गरिएको कालिञ्चोक केवुलकार संकटमा परेको छ । स्थानीयले गठन गरेको कालिञ्चोक सरोकार तथा संघर्ष समितिले केबुलकार अनधिकृत रुपमा निर्माण गरिएको आरोप लगाएसँगै केबुलकारको भविष् संकटमा परेको हो ।

समितिले पत्रकार सम्मेलन गर्दै अनधिकृत रुपमा जंगल तथा चरण क्षेत्र कब्जा गरेर दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका १ स्थित ऐतिहासिक कालिञ्चोकमाई भगवतीलाई माध्यम बनाई कालिञ्चोक दर्शन लिमिटेड (केवुलकार) खोलिएकोमा विरोध जनाएको हो ।

समितिका सल्लाहकार नरबहादुर पाख्रिनले कालिञ्चोक केबुलकार कानूनसम्बत निर्माण नगरिएको दाबी गरे । उनले भने ‘कालिञ्चोक केबुलकारको निर्माण नै अनधिकृत रुपमा भएको छ, राष्ट्रिय जंगल तथा चरन क्षेत्रलाई कब्जा गरेर बनाइएको छ, हामी त्यस क्षेत्रका मानिसहरुले कालिञ्चोक भगवतीमाईको सभ्यता, इतिहासलाई जोगाएर राखेका थियौं, सत्ता र शक्तिको आडमा राष्ट्रिय जंगल, सम्पदा र चरन क्षेत्रहरु मासिने काम भैरहेका छन्, हाम्रो संघर्ष कुनै व्यक्तिका विरोधमा होइन ।’

कुनै परिवारको विरोधमा नभएर आफूहरुको समर्थन इतिहासलाई जोगाउन भएको उनको भनाई छ । केबलकार निर्माण पक्षले ईआए गर्दा त्यस क्षेत्र राष्ट्रिय जंगल तथा चरन क्षेत्र र नेपाल सरकारले २० वर्षको लागि गौरीशंकर संरक्षण क्षेत्रलाई लिजमा दिएको क्षेत्र रहेको उनको भनाई छ । ‘गौरीशंकर संरक्षण क्षेत्रले केवुलकार निर्माण पक्षलाई ५० वर्षको लागि लिजमा दिन कानूनले मिल्दैन’, उनले भने, ‘दोस्रो पटक कपोकल्पित रुपमा नक्कली गुठी निर्माण गरी भूमि सुधार मन्त्रालयस्तरीय निर्णयबाट त्यस क्षेत्र कालिञ्चोक, त्रिपूरा सुन्दरी र भीमेश्वर गुठीको नामाकरण गरेको पाइएको छ, त्यो सरासर कानूनविपरित, बिना अध्ययन, बिना आधार कुनै व्यक्तिको प्रलोभनमा परेर सत्ता र शक्तिको दुरुपयोग भएको छ ।’

सत्ता र शक्तिको आडमा यस्तो गलत काम भैरहेको आरोप लगाउँदै उनले आफूहरुले यसको खरो विरोध गर्ने चेतावनी दिए । उन ले भने, ‘हामीले कानूनी आधारमा यसको समाधान खोजेका छौं, यदि हाम्रो आवाज सुुनुवाई भएन भने हाम्रो आन्दोलनले बिकराल रुप लिनेछ, त्यसको जिम्मेवारी नेपाल सरकारले लिनुपर्नेछ ।’ कार्यक्रममा समितिका सदस्यहरु रुवेन पाख्रिन, महेश भुजेल, सविन खड्गी, सचिन खड्गी, मंगल तामाङ, प्रकाश तामाङ, मनोज लामालगायतले कालिञ्चोक केबुलकारको निर्माण अवैधानिक रहेकोले कुनै पनि हालतमा खारेजी हुनुपर्ने माग गरेका छन् ।

तपाईको प्रतिक्रिया