अमेरिकामा भएको मध्यावधि निर्वाचनमा नेपाली मूलका ह्यारी भण्डारी मेरिल्याण्ड राज्यको सांसद निर्वाचित भएका छन्।

पर्वतमा जन्मेका भण्डारीले मेरिल्याण्ड राज्यको निर्वाचन क्षेत्र नम्बर ८ बाट डेमोक्रेटिक पार्टीका तर्फबाट चुनाव जितेका हुन्। अमेरिकाको राजनीतिमा नेपाली मूलका नागरिक पहिलेदेखि नै संलग्न भएपनि राज्यको सांसदमा निर्वाचित भण्डारी पहिलो हुन्।

मंगलबार भएको निर्वाचनमा मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट डिष्ट्रिक ८ बाट २० हजार ९ सय ७७ मतका साथ निर्वार्चित भएका हुन्। अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपाली मूलका नागरिकको बसोबास पनि बाक्लो छ।

संभवतः भण्डारी विदेशमा माथिल्लो तहमा निर्वाचित हुने नेपाली मूलका पहिलो राजनीतिकर्मी हुन्। नेपालको पर्वत जिल्लाबाट सन् २००५ मा उनी अमेरिका आएका थिए । भण्डारी नेपालमा अंग्रेजी भाषा पढाउँथे । अमेरिकामा पनि उनी प्राध्यापन पेशामा नै संलग्न छन् ।

गत २६ जुन २०१८ मा भएको प्राथमिक चरणको निर्वाचनमा डेमोक्र्याटिक दलका तर्फबाट उनी दोश्रो स्थान हासिल गरी बिजयी बनेका थिए । उक्त प्राथमिक निर्वाचनमा मैदाना उत्रिएका ४ जना प्रतिस्पर्धीहरुमा एरिक ब्रोम्वेल पहिलो, भण्डारी दोश्रो र तेश्रो स्थानमा कार्लज्याक्स विजयी भएका थिए ।

गत प्राथमिक निर्वाचनमा खसेको २० हजार ७ सय २६ मतमध्ये भण्डारीले २८ दशमलव १ प्रतिशत अर्थात् ५ हजार ९ सय ४१ मत ल्याएर दोस्रो भएका थिए । उक्त चुनाव क्षेत्र जिल्ला ८ मा रिपब्लिकन दलका उम्मेदवारले पाएको मत हेर्ने हो भने डेमोक्र्याटिक उम्मेदवारको तुलनामा प्राथमिक निर्वाचनमा कम मत पाएको आँकडाले देखाएको थियो ।

यसैगरी न्यूह्याम्पशायरबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएकी राज्य डेमोक्र्याटिक दलकी उम्मेदवार मदलसा गुरुङ उपबिजेता बनेकी छन् । उनले २ हजार २ सय ९२ मत प्राप्त गरिन् । उनले बिजयी उम्मेदवारलाई बधाई पनि दिएकी छन् ।

तपाईको प्रतिक्रिया