काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने कुरा कुनै हालतमा सोच्नै नसकिने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालको देउसी-भैलो कार्यक्रममा पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेता नेपालले यस्तो बताएका हुन् । ‘अहिले उहाँको विकल्प खोज्ने कुरा सोच्नै सकिन्न । यो सरकारले काम गरेर देखाउँछ’, उनले भने, ‘मैले प्रधानमन्त्रीसँग पटक-पटक कुरा गरेको छु । उहाँमा आत्मविश्वास छ । मसँग उहाँले कमिटमेन्ट गर्नुभएको छ । मैले भनेको छु, हामी छौं अरुको कमिकमजोरी आलोचना गर्न । तपाई ढुक्क भएर सरकार चलाउनुस् । कमजोरी सुधार गरेर जानुपर्छ ।’

भ्रष्टाचार अन्त्य गर्ने कुरामा वर्तमान सरकार सफल हुने पनि उनको दाबी छ । ‘केपी ओलीको सरकार भनेको नेकपाको सरकार हो । कम्युनिष्ट पार्टीको सरकार हो । यसको अगुवाई ओलीजीले गर्नुभएको छ । यो सरकार असफल भयो भने सिँगो पार्टी असफल भएको देखिन्छ’, देउसी टोलीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने, ‘यो सरकारसँग भीजन छ । संकल्प छ । यसले आफ्ना प्राथमिकताहरु निर्धारण गरेको छ । भएका साधन र स्रोतको उपयोग कसरी गर्ने भन्नेपनि प्रधानमन्त्रीजीसँग स्पष्ट सोच छ ।’

उनले प्रधानमन्त्रीले अब कर्मचारीतन्त्रलाई पनि त्यही ढंगले परिचालन गर्नुपर्ने धारणा राखे । ‘मन्त्रीहरुलाई परिचालन गर्न पार्टी बलियो हुनुपर्छ । पार्टीले सबै ठाउँमा आफ्नो ध्यान दिनुपर्छ । आफ्नो पार्टीका गतिविधिहरुलाई निरीक्षण, अनुगमन गर्नुपर्छ’, उनले भने, ‘सरकारको काम पनि अनुगमन गर्नुपर्छ । निर्माण व्यवसायीहरुले काम गरिरहेका छन् कि छैनन् अनुगमन गर्नुपर्छ । राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्छ ।’

नेता नेपालले विकास अहिले देशको आवश्यकत्ता भएको बताए । ‘विकास देशको उन्नति र प्रगतिको लागि आवश्यक छ । राजनीतिक क्रान्ति भइसकेपछि अब विकासको लागि सम्पूर्ण ध्यान आर्थिक क्रान्ति, सामाजिक, सांस्कृतिक आर्थिक रुपान्तरणप्रति छ । सरकारले आफ्नो काम त्यहीअनुसार गरिरहेको छ,’ नेपालले भने ।

नेता नेपालले पार्टी एकता प्रक्रिया चाँडै सकिने पनि बताए । ‘यही महिनामा एकता सम्पन्न गर्ने योजना थियो । तर, प्रधानमन्त्रीजी विरामी हुनुभयो । उहाँ स्वस्थ भएर आएपछि सबै कुरा टुंगो लाग्छ’, नेपालले भने, ‘गाउँदेखि केन्द्रसम्मको एकता टुँगो लगाउँछौं । जनवर्गीय संगठनको एकतापनि टुँगो लगाउनुपर्छ ।’

स्थायी समिति बैठक बस्न नसक्नुमा पनि प्रधानमन्त्रीको अस्वस्थता नै कारण रहेको उनको स्पष्टोक्ति थियो । उनले भने,‘सचिवालय र स्थायी समिति बैठक बस्ने योजना थियो । तर, उहाँ (प्रम) एक्कासी विरामी हुनुभयो, अब प्रम आराम गरेर फिट भएपछि बैठक बस्छ ।’

तपाईको प्रतिक्रिया